
भक्तपुर, पुस २ गते
नेशनल प्याब्सन भक्तपुरको आयोजनामा विमल मेमोरियल विद्यापीठको सहकार्यमा सञ्चालन गरिएको माध्यमिक तहस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०८२ सम्पन्न भएको छ।
विमल मेमोरियल विद्यापीठको आफ्नै सभाहलमा सम्पन्न प्रतियोगितामा नेशनल प्याब्सन अन्तर्गतका सदस्य विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक र ज्ञानमूलक वातावरणबीच सम्पन्न प्रतियोगितामा इडेन गार्डेन इङ्गलिस स्कुल प्रथम, मदरल्याण्ड इङ्गलिस स्कुल दोस्रो, ऋतम्भरा पाठशाला तेस्रो तथा आरक्षण नेशनल स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रमका सभापति तथा आयोजक विद्यालय विमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक कुमार थापा मगरले प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनुमा सहभागी विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय भूमिकाको प्रशंसा गर्दै कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेशनल प्याब्सन भक्तपुरप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. १० का प्रशासकीय प्रमुख कुमार राउतले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुहुँदै निरन्तर मिहिनेत, अनुशासन र लगनशीलताले विद्यार्थीलाई सफलता दिलाउने बताउनुभयो।
त्यसैगरी, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरूको महत्त्व औँल्याउँदै प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गरेकोमा आयोजक विद्यालय विमल मेमोरियल विद्यापीठलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि सम्पूर्ण सदस्य विद्यालयहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रमले विद्यार्थीहरूमा बौद्धिक क्षमता, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न सहयोग पुगेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।





















