News Portal

  • होटल सङ्घ भक्तपुर र होटल सङ्घ बागमती प्रदेशबीच पर्यटन विकासबारे संयुक्त बैठक सम्पन्न

    दोलागिरि संवाददाता२०८३ साउन १९
    ६९ पटक

    १८ साउन २०८३भक्तपुर — होटल सङ्घ भक्तपुर र होटल सङ्घ बागमती प्रदेशबीच संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा भक्तपुरको पर्यटन विकास, होटल व्यवसायको प्रवर्द्धन तथा स्थानीय, प्रदेश र संघीय तहबीच आवश्यक समन्वय र सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो।

    बैठकमा होटल सङ्घ बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बके तथा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद रुकेश रञ्जितको विशेष सहभागिता रहेको थियो। छलफलका क्रममा भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, पर्यटन पूर्वाधार सुदृढ गर्ने, होटल व्यवसायको विकास तथा पर्यटनमैत्री वातावरण निर्माणका लागि सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

    संघीय सांसद रुकेश रञ्जितले पर्यटन क्षेत्रको दिगो विकासका लागि आवश्यक नीति, योजना तथा पूर्वाधार निर्माणमा आफ्नो तर्फबाट आवश्यक पहल र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, होटल सङ्घ बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले निजी क्षेत्र र तीनै तहका सरकारबीच समन्वय र साझेदारीलाई अझ सुदृढ गर्दै भक्तपुरलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो।
    बैठकमा सहभागीहरूले पर्यटन क्षेत्रको समग्र विकासका लागि आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा साझा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    प्रतिकृया दिनुहोस्