
भक्तपुर । मध्यपुर प्याब्सनले आयोजना गरेको नेपाली हिज्जे प्रतियोगिता तयारी तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाली भाषा तथा शुद्ध हिज्जे लेखनप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने, भाषिक क्षमता विकास गर्ने तथा आगामी नेपाली हिज्जे प्रतियोगिताका लागि विद्यार्थीहरूलाई तयारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा केन्द्रीय प्याब्सनका कोषाध्यक्ष गणेशबाबु पोखरेल र विशेष अतिथिका रूपमा केन्द्रीय प्याब्सनका सचिव चन्द्र अधिकारी सहभागी हुनुभएको थियो। त्यसैगरी, समापन समारोहमा जिल्ला प्याब्सन भक्तपुरका उपाध्यक्ष निलेश आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाली भाषा विषयविज्ञ धर्म पोखरेलले सहभागी विद्यार्थी तथा शिक्षकहरूलाई नेपाली हिज्जे, शुद्ध लेखन तथा भाषिक प्रयोगसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रम सफल बनाउन मध्यपुर प्याब्सनका पदाधिकारी तथा सदस्यहरू, सदस्य विद्यालयहरू, शिक्षक–विद्यार्थी तथा विभिन्न तहबाट सहयोग गर्ने सबैको महत्वपूर्ण भूमिका रहेको मध्यपुर प्याब्सनका अध्यक्ष सुमन बस्नेतले बताउनुभयो।
अध्यक्ष बस्नेतका अनुसार नेपाली भाषाको शुद्धता र प्रयोगमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूमा नेपाली भाषाप्रतिको रुचि बढाउँदै शुद्ध हिज्जे र लेखन संस्कारको विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउँछन्। आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा र क्षमता विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
कार्यक्रमका लागि स्थल उपलब्ध गराएको युनिक नेपाल एकेडेमी, लोकन्थली परिवारप्रति पनि आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।
अध्यक्ष बस्नेतले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने केन्द्रीय प्याब्सन, जिल्ला प्याब्सन भक्तपुर, मध्यपुर प्याब्सनका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, सदस्य विद्यालयहरू, विषयविज्ञ धर्म पोखरेल, युनिक नेपाल एकेडेमी परिवार, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
सबैको सामूहिक सहभागिता, सहकार्य र योगदानले नेपाली हिज्जे प्रतियोगिता तयारी तथा प्रशिक्षण कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक बनेको आयोजकले जनाएको छ।










