News Portal

  • आरक्षण नेसनल स्कुलमा नेसनल प्याब्सन भक्तपुरको एकल गायन प्रतियोगिता सम्पन्न

    दोलागिरि संवाददाता२०८३ आश्विन ६
    ३१ पटक

    भक्तपुर, असोज ४ । नेसनल प्याब्सन भक्तपुरको आयोजनामा हुँदै आएको अन्तरविद्यालय एकल गायन प्रतियोगिता–२०८३ चाँगुनारायण नगरपालिका–८ स्थित आरक्षण नेसनल स्कुलको आयोजनामा सम्पन्न भएको छ।

    नेसनल प्याब्सन भक्तपुरअन्तर्गतका सदस्य विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगिता माध्यमिक र आधारभूत तह गरी दुई विधामा सञ्चालन गरिएको थियो। प्रतियोगितामा भक्तपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

    माध्यमिक तहतर्फको प्रतिस्पर्धामा ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, मदरल्याण्ड स्कुलकी रोहिणी बस्नेत द्वितीय, डेमोस स्कुलकी वर्षा जिम्बा तामाङ तृतीय र पाथीभरा एकेडेमीका कृस्तफ थापा मगर सान्त्वना भएका छन्।

    त्यसैगरी आधारभूत तहतर्फ ऋतम्भरा पाठशालाकी नितु तामाङ प्रथम, संस्कार गुरुकूलकी विदुषी ढकाल द्वितीय, मदरल्याण्ड स्कुलका न्यूरोन लोहोला तृतीय तथा नगरकोट सनराइज स्कुलका दिवस नगरकोटी सान्त्वना भएका छन्।
    आयोजक विद्यालयकी कार्यकारी निर्देशक शर्मिला खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष एवं नगर प्रवक्ता जनक खत्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खत्रीले नेसनल प्याब्सनले अन्तरविद्यालयस्तरमा यस्ता प्रतियोगिता आयोजना गर्दा विद्यार्थीमा रहेको प्रतिभा पहिचान र प्रस्फुटनका लागि महत्वपूर्ण अवसर प्राप्त हुने बताउनुभयो। उहाँले शिक्षा सँगसँगै कला, संगीत तथा सिर्जनात्मक गतिविधिमा पनि विद्यार्थीको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले प्रतियोगिता आयोजना गर्ने आरक्षण नेसनल स्कुलप्रति आभार व्यक्त गर्दै प्रतियोगितामा सहभागी तथा विजेता विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले विद्यार्थीको प्रतिभा विकासका लागि नेसनल प्याब्सनले विभिन्न अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको बताउनुभयो।

    प्रतियोगिताको उद्देश्य विद्यालय तहमा विद्यार्थीको गायन प्रतिभा, सिर्जनशीलता तथा आत्मविश्वास विकास गर्नुका साथै कला र संगीतप्रतिको रुचिलाई प्रोत्साहन गर्नु रहेको कार्यक्रम संयोजक सरोज केसीले जानकारी दिनुभयो।

    प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयबीचको आपसी सम्बन्ध र सिर्जनात्मक प्रतिस्पर्धालाई समेत थप मजबुत बनाएको आयोजकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्