
२ असोज २०८३ भक्तपुर । राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रम सम्पन्न भएको छ।
शिक्षाको विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षक, विद्यार्थी र व्यक्तित्वहरूको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय पाठ्यक्रमअन्तर्गत तयार गरिएको ‘मध्यपुर थिमि म्हसिका’ पुस्तक विमोचन गरिएको थियो।
कार्यक्रममा नगरपालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरिएको हो।

यसै अवसरमा शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको सम्मानस्वरूप मध्यपुर थिमि नगरपालिका–७ का वडा अध्यक्ष कृष्ण कुमार प्रजापती तथा नौलो ज्योति ई. स्कुलका शिक्षक शिवकृष्ण श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमले स्थानीय पाठ्यक्रमको महत्व, शिक्षाको गुणस्तर अभिवृद्धि तथा शिक्षासँग सम्बन्धित क्षेत्रमा निरन्तर योगदान पुर्याउने शिक्षक, विद्यार्थी र व्यक्तित्वहरूको सम्मानलाई प्राथमिकता दिएको सन्देश दिएको छ।

स्थानीय भाषा, संस्कृति, इतिहास, कला, सम्पदा तथा स्थानीय परिवेशलाई शिक्षासँग जोड्ने उद्देश्यले तयार गरिएको ‘मध्यपुर थिमि म्हसिका’ पुस्तक स्थानीय शिक्षा प्रणालीलाई थप व्यवहारिक र मौलिक बनाउन महत्वपूर्ण सामग्रीका रूपमा प्रस्तुत गरिएको थियो।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमले मध्यपुर थिमिको शैक्षिक विकासमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्व तथा विद्यार्थीहरूको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा थप सकारात्मक कामका लागि प्रेरणा प्रदान गरेको छ।
















