News Portal

  • प्रसादि पाठशालाको आयोजनामा नेसनल प्याब्सन भक्तपुरको जिल्ला स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न

    दोलागिरि संवाददाता२०८३ भाद्र २२
    ९ पटक

    भक्तपुर, भदौ २१ । नेसनल प्याब्सन भक्तपुरको बोर्ड कार्यक्रम सदस्य विद्यालय प्रसादि पाठशालाको आयोजनामा जिल्ला स्तरीय अन्तरविद्यालय वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।
    विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किक क्षमता तथा वाककलाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ र ७ का विद्यार्थीहरूले विभिन्न समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

    कक्षा ७ तर्फ ‘विद्यार्थी जीवनमा अनुशासन कि स्वतन्त्रता’ शीर्षकमा वादविवाद प्रतियोगिता सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितामा ईडेन गार्डेन स्कुलकी आरूषी महतो प्रथम, मदरल्याण्ड स्कुलकी दिपीका कार्की द्वितीय, आरक्षण नेसनल स्कुलकी यूनिशा खत्री तृतीय र विमल मेमोरियल विद्यापीठकी प्रिन्शा देउजा सान्त्वना स्थान हासिल गर्न सफल भए।
    त्यस्तै, कक्षा ६ तर्फ ‘एआईले विद्यार्थीको सिकाइलाई सहज बनाउँछ कि अल्छी?’ शीर्षकमा भएको प्रतियोगितामा ईडेन गार्डेन स्कुलकी विश्रुति सापकोटा प्रथम, यूनिटी स्कुलका हिमांशु भट्ट द्वितीय, मदरल्याण्ड स्कुलकी कृष्टिका भण्डारी तृतीय तथा विमल मेमोरियल विद्यापीठकी भूमिका जिरेल सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ ।
    प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
    कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले सदस्य विद्यालयहरूबीच आयोजना गरिएको यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किक सोच र वाककलाको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी लिएको प्रसादि पाठशालाप्रति आभार व्यक्त गर्नुभयो।

    प्रतियोगिताका निर्णायकहरू वरिष्ठ साहित्यकार डा. सीता सुवेदी र नेत्रप्रसाद घिमिरे रहनुभएको थियो। निर्णायकहरूले विद्यार्थीहरूले प्रस्तुत गरेका तर्क, विषयवस्तुको ज्ञान, प्रस्तुति शैली तथा भाषिक क्षमताका आधारमा मूल्याङ्कन गरेका थिए।
    कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका सहसचिव तथा प्रसादि पाठशालाका प्रिन्सिपल दिनेश शाक्यले प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी प्रदान गरेकोमा नेसनल प्याब्सन भक्तपुरप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र बौद्धिक विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

    नेसनल प्याब्सन भक्तपुरले सदस्य विद्यालयहरूबीच शैक्षिक तथा अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूको प्रतिभा विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    प्रतिकृया दिनुहोस्