News Portal

  • रसुवा भोटेकोशी बाढीप्रति नेकपा (माओवादी)को गम्भीर चिन्ता , उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न माग

    दोलागिरि संवाददाता२०८३ भाद्र १०
    ४५ पटक

    १० भाद्र २०८४ काठमाडौं  — रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दुःख व्यक्त गरेको छ। पार्टीले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
    पार्टीका महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिमा बाढीबाट घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को समयमा राज्यले उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र बनाउनुपर्नेमा जोड दिइएको छ।
    पार्टीले बाढीको चपेटामा परेका नागरिकहरूको उद्धारका लागि राज्यका सम्पूर्ण साधन–स्रोत परिचालन गर्न र पीडित नागरिकलाई थप विचल्लीमा पर्न नदिन सरकारसँग माग गरेको छ।
    त्यस्तै, घाइते नागरिकको तत्काल उद्धार तथा निःशुल्क उपचारको व्यवस्था गर्न, बाढीबाट सर्वस्व गुमाएका नागरिकको उचित व्यवस्थापन गर्न तथा प्रभावित क्षेत्रमा राहत कार्यलाई प्रभावकारी बनाउन पार्टीले आग्रह गरेको छ।
    भोटेकोशी बाढीको प्रभाव र क्षति इतिहासकै ठूलोमध्ये भएको उल्लेख गर्दै पार्टीले राज्य र नागरिकको संयुक्त सहभागितामा विशेष राहत कोष स्थापना गर्न तथा त्यसको प्रभावकारी सञ्चालनका लागि संयुक्त परिचालन समिति गठन गर्न माग गरेको छ।
    विज्ञप्तिमा विपद्को यस घडीमा देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई प्रभावित जनताको सहयोगमा जुट्न अपिल गरिएको छ। साथै, सबै मित्रराष्ट्रहरूलाई अन्तर्राष्ट्रिय मानवीय भावनाअनुरूप राहत अभियानमा सहभागी हुन विशेष आग्रह गरिएको छ।
    पार्टीले संकट र विपद्को घडीमा युवा, विद्यार्थी, विभिन्न मोर्चा तथा संगठनहरूसँगै राजनीतिक दलहरूलाई समेत उद्धार, राहत र व्यवस्थापनका कार्यमा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ।
    विज्ञप्तिको अन्त्यमा भनिएको छ, प्राकृतिक विपत्तिले हामीलाई अपूरणीय क्षति र असीमित पीडा पक्कै दिएको छ, तर यसले हामीलाई समाप्त पार्न सक्दैन। सिङ्गो देश एकताबद्ध भएर विपत्तिबाट निस्कनेछौँ।

     

    प्रतिकृया दिनुहोस्