
भक्तपुर, साउन २३ । मध्यपुर थिमि नगरपालिकाले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने देशकै पहिलो नगरपालिका भएको दाबी गरेको छ। नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी पीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको हो।
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार स्थानीय तहमध्ये पहिलोपटक मध्यपुर थिमि नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी कृषि विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवस्थापन प्रक्रिया अघि बढाएको हो।
नगरपालिकाको चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न शुक्रबार मध्यपुर थिमिमा आयोजित कार्यक्रममा उपप्रमुख श्रेष्ठले सम्बन्धित ऋणीबाट हालसम्म ५० लाख ४२ हजार रुपैयाँ असुल गरी ५१२ जना बचतकर्तालाई रकम फिर्ता गरिएको जानकारी दिए। तीमध्ये ११६ जना बचतकर्ताको बचत पूर्णरूपमा भुक्तानी भइसकेको उनले बताए।
नगरपालिकाका अनुसार सहकारी तथा सम्बन्धित ऋणीहरूको सम्पत्ति, बैंक खाता तथा सहकारी र सञ्चालकको नाममा रहेको करिब ५१३ रोपनी जग्गा न्यायिक समितिको निर्णयबाट रोक्का राखिएको छ। उक्त सम्पत्ति लिलामी गरी प्राप्त रकमबाट बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान तथा बचतकर्ताको हित संरक्षणका लागि नगरपालिकाले सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०८० लगायत पाँचवटा कार्यविधि निर्माण गरी लागू गरेको जनाएको छ। त्यस्तै, सहकारी क्षेत्रको ऋण व्यवस्थापनलाई व्यवस्थित बनाउन ऋण सूचना केन्द्रसमेत सञ्चालनमा ल्याइएको नगरपालिकाको भनाइ छ।
कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको चारवर्षे कार्यकालको प्रगति विवरण समेटिएको पाँच पृष्ठ लामो लिखित प्रतिवेदन सार्वजनिक गरेका थिए। प्रतिवेदनमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ५१२ जना बचतकर्तालाई कुल ५२ लाख ४० हजार रुपैयाँ फिर्ता गरिएको उल्लेख छ।
नगरपालिकाले समस्याग्रस्त सहकारीको सम्पत्ति तथा ऋणीबाट रकम असुल गरी पीडित बचतकर्तालाई क्रमशः रकम फिर्ता गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ। स्थानीय तहबाटै सहकारी पीडितको बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको विषयलाई नगरपालिकाले आफ्नो चारवर्षे कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।














