News Portal

  • चितवनको पर्यटन प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्य : अध्यक्ष बके

    दोलागिरि संवाददाता२०८३ साउन १६
    २८ पटक

    चितवन, साउन १६ — होटल एसोसिएसन नेपाल (हान) बागमती प्रदेश तदर्थ समितिको संयुक्त बैठक चितवनको सौराहामा सम्पन्न भएको छ। बैठकले चितवनको पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
    चितवन हानका अध्यक्ष ओम पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा हान बागमती प्रदेश तदर्थ समितिका अध्यक्ष तथा पर्यटन व्यवसायी रामसुन्दर बकेले नेपालको पर्यटन उद्योगलाई समयानुकूल रूपान्तरण गर्न प्रविधिमैत्री सेवा विस्तार, डिजिटल सूचना प्रणालीको विकास, सेवा गुणस्तर अभिवृद्धि तथा पर्यटन व्यवसायीहरूबीच समन्वय सुदृढ बनाउन आवश्यक रहेको बताए।
    उनले सरकारले हात्ती सफारी सञ्चालनमा लगाएको प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गर्दै वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनबीच सन्तुलन कायम हुने गरी व्यवहारिक र दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राखे। पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी, सुरक्षित र आकर्षक बनाउन सरकार र निजी क्षेत्रबीच विश्वासमा आधारित सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
    अध्यक्ष बकेले कानुनी रूपमा सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायको संरक्षण, व्यवसायीहरूको हकहित प्रवर्द्धन, पर्यटनमैत्री नीति निर्माण तथा आवश्यक कानुनी सुधारका लागि हान बागमती प्रदेश तदर्थ समिति सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
    बैठकमा सहभागी पर्यटन व्यवसायीहरूले चितवनलाई अन्तर्राष्ट्रियस्तरको पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न पूर्वाधार विकास, गुणस्तरीय सेवा, आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी प्रचारप्रसार तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।
    कार्यक्रमका अध्यक्ष ओम पाण्डेले चितवन नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको अपार सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न स्थानीय सरकार, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले दिगो पर्यटन विकासका लागि साझा प्रतिबद्धता, स्पष्ट योजना र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै बैठकले पर्यटन क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    प्रतिकृया दिनुहोस्