News Portal

  • नयाँ कम्युनिस्ट केन्द्र निर्माण अनिवार्य : महासचिव विप्लव

    दोलागिरि संवाददाता२०८३ साउन २०
    ७६ पटक

    काठमाडौं, साउन २०। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले नेपालमा कम्युनिस्ट आन्दोलनलाई नयाँ दृष्टिकोण, नयाँ घोषणापत्र र नयाँ कम्युनिस्ट केन्द्रमार्फत पुनर्गठन गर्नु समयको अनिवार्य आवश्यकता भएको बताएका छन्।

    बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगत दुई दशकमा कम्युनिस्ट आन्दोलनले जनविश्वास गुमाउँदै गएको उल्लेख गर्दै अब कुनै एक नेता वा एक दलले मात्र आन्दोलनलाई अघि बढाउन नसक्ने बताए। उनका अनुसार कम्युनिस्ट आन्दोलनलाई फराकिलो आधारमा पुनर्गठन गरी नयाँ पुस्ताको आकांक्षा र समकालीन राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिअनुसार नयाँ वैचारिक दिशा दिन आवश्यक छ।

    महासचिव विप्लवले विगतमा करिब ७० प्रतिशतसम्म पुगेको कम्युनिस्ट जनमत अहिले २२–२५ प्रतिशतमा सीमित हुनु गम्भीर समीक्षा र आत्मआलोचनाको विषय भएको बताए। उनले संसदीय अभ्यासमा केन्द्रित कम्युनिस्ट शक्तिहरू सरकार सञ्चालनमा समेत अपेक्षित सफलता हासिल गर्न नसकेको टिप्पणी गर्दै त्यसले जनतामा निराशा बढाएको धारणा व्यक्त गरे।

    उनले विद्रोहपछि बनेको वर्तमान सरकारमाथि पनि आलोचना गर्दै जनताले राखेको परिवर्तनको अपेक्षा पूरा हुन नसकेको दाबी गरे। विशेषगरी नयाँ पुस्ता (जेन–जी)का आकांक्षा, सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकार चुकेको उनको आरोप थियो। सुरुमा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने संकेत देखिए पनि पछि सरकार जनपक्षीय एजेन्डाबाट विचलित भएको उनले बताए।
    विप्लवका अनुसार भ्रष्टाचारमा आरोपित व्यक्तिहरू पुनः प्रभावशाली बन्दै जानु, धरौटी वा अन्य प्रक्रियामार्फत रिहा हुनु तथा भ्रष्टाचारविरुद्ध प्रभावकारी कारबाही नहुनुले जनतामा असन्तुष्टि र आक्रोश बढाएको छ। यही कारण मुलुकमा फेरि आन्दोलन, संघर्ष र विद्रोहको वातावरण विकसित हुँदै गएको उनको भनाइ थियो।

    उनले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव राख्दै सबै कम्युनिस्ट शक्ति, प्रगतिशील बुद्धिजीवी तथा परिवर्तनका पक्षधरहरूबीच वैचारिक बहस र सहकार्यको आवश्यकता औँल्याए। नयाँ घोषणापत्र, नयाँ राजनीतिक दृष्टिकोण र रूपान्तरणकारी कार्यक्रमसहित अघि बढे मात्रै कम्युनिस्ट आन्दोलन पुनः युवापुस्तामाझ लोकप्रिय बन्न सक्ने उनको विश्वास थियो।
    पत्रकार सम्मेलनमा उनले समग्र राजनीतिक परिस्थितिको समीक्षा गर्दै मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता झन् स्पष्ट बन्दै गएको निष्कर्ष प्रस्तुत गरे।

    प्रतिकृया दिनुहोस्