
साउन २४, भक्तपुर । नेसनल प्याब्सन भक्तपुरको बोर्ड कार्यक्रमअन्तर्गत आयोजित अंग्रेजी हिज्जे (Spelling) प्रतियोगिता बोडे, भक्तपुरस्थित संस्कार गुरूकुलको आयोजनामा सम्पन्न भएको छ।
संस्कार गुरूकुलको प्राङ्गणमा आयोजित प्रतियोगितामा भक्तपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगितामा इडेन गार्डेन स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्वितीय, युनिटी स्कुल तृतीय तथा क्वालिटी स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगिताले विद्यार्थीहरूको अंग्रेजी भाषाप्रतिको रुचि, शब्दज्ञान, उच्चारण क्षमता तथा प्रतिस्पर्धात्मक प्रतिभा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। विद्यार्थीमा सिर्जनात्मकता, आत्मविश्वास र अतिरिक्त ज्ञान विकास गर्न यस्ता शैक्षिक कार्यक्रम आवश्यक रहेको सहभागी विद्यालयका प्रतिनिधिहरूले बताएका थिए।
नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्कार गुरूकुलका प्रिन्सिपल तथा कार्यक्रमका सभाध्यक्ष अमन हिताङ्गले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेसनल प्याब्सन भक्तपुरप्रति आभार व्यक्त गरे।
कार्यक्रममा नेसनल प्याब्सनका सल्लाहकार जीबी खड्काले विजयी विद्यार्थी तथा विद्यालयहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरूको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरे।
कार्यक्रमले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै अंग्रेजी भाषाको ज्ञान, आत्मविश्वास र प्रस्तुतीकरण क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।














