
भक्तपुर । चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर देउजा ‘विजय विस्फोट’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २२ गते देउजासहित प्रतिष्ठानका विभिन्न पदमा पदाधिकारी तथा परिषद् सदस्य नियुक्त गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको नियुक्तिसम्बन्धी विवरणअनुसार देउजा परिषद् सदस्यमा नियुक्त भएका हुन्।
चार दशक लामो रंगयात्रामा देउजाले अभिनय, नाट्य सिर्जना र रंगमञ्चीय प्रयोगका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। विशेषगरी विसंगतिवादी नाट्य शैलीमा नयाँ प्रयोग गर्दै आएका उनी नेपाली रंगमञ्चमा स्पष्ट विचार र खरो अभिव्यक्तिका लागि परिचित छन्। अभिनय तथा नाट्य सिर्जनाका माध्यमबाट नेपाली रंगमञ्चको विकासमा योगदान पुर्याउँदै आएका देउजाले समकालीन नाट्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
देउजाको रंगयात्रा नाट्य सिर्जना र प्रस्तुतिमा मात्र सीमित छैन। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विगतमा भएका भनिएका अवैधानिक नियुक्तिको विरोधमा उनले लामो कानुनी संघर्षसमेत गरेका थिए। प्रतिष्ठानका नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै उनले करिब १४ वर्षसम्म कानुनी लडाइँ लडेका थिए।
नेपाली रंगकर्मीहरूको पेशागत हकहित र अधिकारका लागि संगठन निर्माणमा समेत देउजाको महत्वपूर्ण भूमिका रहेको छ। उनी नाट्यकर्मी महासंघका संस्थापक हुन्। देशभर छरिएर रहेका नाट्यकर्मीलाई संगठित गर्दै उनीहरूको पेशागत अधिकार, सम्मान तथा हकहितका पक्षमा आवाज उठाउने अभियानमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए।
चार दशक लामो रंगमञ्च यात्राका क्रममा देउजाले अग्रजदेखि समकालीन पुस्तासम्मका रंगकर्मीमाझ स्पष्ट र दृढ विचार राख्ने जुझारु रंगकर्मीका रूपमा आफ्नो परिचय बनाएका छन्। सिर्जना, प्रयोग र कलाकारको पेशागत अधिकारका पक्षमा निरन्तर सक्रिय रहँदै आएका देउजाको प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्तिलाई नेपाली रंगमञ्चमा लामो समयदेखि सक्रिय रंगकर्मीको प्रतिनिधित्वका रूपमा समेत हेरिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार प्रतिष्ठानको कुलपतिमा ब्रेजेश खनाल, उपकुलपतिमा झुमा बनमे र सदस्य सचिवमा भूपेन्द्रसिंह रायमाझी नियुक्त भएका छन्।
त्यसैगरी छेन्दोक हाङ राई, सुभिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ, रेखा शाह गुरुङ र जीतबहादुर देउजा ‘विजय विस्फोट’ परिषद् सदस्यमा नियुक्त भएका छन्।
नवनियुक्त पदाधिकारी तथा परिषद् सदस्यहरूले नेपाली संगीत तथा नाट्य क्षेत्रको संस्थागत विकास, कलाकारको पेशागत अधिकारको संरक्षण तथा सिर्जनात्मक गतिविधिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।














