
काठमाडौं, साउन २४ । नेपाली अटोमोबाइल बजारमा नयाँ प्रविधि र सवारीसाधन भित्र्याउने उद्देश्यसहित नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो मोबिलिटी एक्सपो आयोजना गर्ने भएको छ। एक्सपो आगामी अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
गत वर्ष ४२ वटा ब्रान्ड सहभागी रहेको एक्सपोमा यसपटक सहभागिता बढेर ५५ वटा ब्रान्ड पुगेको नाइमाले जनाएको छ। एक्सपोमा विभिन्न कम्पनीका ४४ वटा नयाँ सवारीसाधन तथा मोडल सार्वजनिक गरिने नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले जानकारी दिनुभयो।
एक्सपोमा ए, बी र सी सेग्मेन्टका सवारीसाधनदेखि प्रिमियम कारसम्मका यात्रुवाहक सवारीसाधन प्रदर्शन गरिनेछ। बजारमा नयाँ प्रवेश गर्न लागेका मोडलसँगै नेपाली बजारमा बिक्री भइरहेका सवारीसाधनका नयाँ संस्करणसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।
यसपटकको एक्सपो सवारीसाधन प्रदर्शनमा मात्र सीमित हुने छैन। विद्युतीय सवारीसाधनका लागि आवश्यक चार्जिङ पूर्वाधार निर्माण गर्ने कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेस्टुरेन्ट तथा ट्राफिक प्रहरीसँग सम्बन्धित सेवा र प्रविधिसमेत एक्सपोमा प्रदर्शन गरिनेछ।
नाइमाका अनुसार एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ। भृकुटीमण्डपमा विभिन्न कम्पनीका स्टल निर्माणको काम भइरहेको छ भने सहभागी ब्रान्ड, वक्ता, मोडरेटर तथा प्यानल सदस्यहरूको तयारीसमेत पूरा भइसकेको छ।
नेपालमा विद्युतीय तथा अन्य आधुनिक सवारीसाधनको प्रयोग बढिरहेका बेला आयोजना हुन लागेको एक्सपोले उपभोक्तालाई एउटै थलोमा विभिन्न ब्रान्ड र नयाँ प्रविधिका सवारीसाधनबारे जानकारी प्राप्त गर्ने अवसर दिने आयोजकको विश्वास छ।
एक्सपोमा नयाँ सवारीसाधन अवलोकन तथा खरिदमा रुचि राख्ने उपभोक्ताका साथै अटोमोबाइल व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, वित्तीय संस्था, बीमा कम्पनी तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहने नाइमाले जनाएको छ।

















