News Portal

  • नलिनचोकमा जग्गा अतिक्रमणको आरोप, सहमति लत्याएर निर्माण अघि बढाएको पीडितको दाबी

    दोलागिरि संवाददाता२०८३ कार्तिक ७
    ४२ पटक

    भक्तपुर । सूर्यविनायक नगरपालिका–९, नलिनचोकमा छिमेकीको जग्गा अतिक्रमण हुने गरी घर निर्माण गरिएको भन्दै स्थानीय कृष्ण खत्रीले न्यायको माग गरेका छन्। उनले सशस्त्र प्रहरीका पूर्व एसएसपी विश्वेश्वर थापामाथि आफ्नो परिवारसहित अर्का जग्गाधनीको जग्गासमेत अतिक्रमण हुने गरी संरचना निर्माण गरेको आरोप लगाउँदै निर्माण कार्य तत्काल रोक्न र विवादित जग्गाको वास्तविक सिमाना निर्धारण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

    खत्रीले पत्रकारहरूसमक्ष जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनकी आमा मिठूदेवी खत्रीको नाममा दर्ता रहेको कित्ता नं. १८८३ र उद्यराम श्रेष्ठको नाममा रहेको कित्ता नं. ९२६ को जग्गातर्फ अतिक्रमण हुने गरी जोडिएको कित्ता नं. १३०२ का जग्गाधनी थापाले घर निर्माण गरिरहेका छन्।

    खत्रीका अनुसार मिठूदेवी खत्रीको जग्गाको मोहडा ४५.२ फिट र उद्यराम श्रेष्ठको जग्गाको मोहडा २२ फिट रहेको छ। ती जग्गातर्फ क्रमशः ११ फिट र १२ फिट क्षेत्रफल अतिक्रमण हुने गरी निर्माण भइरहेको उनको दाबी छ।

    जग्गाको सिमानाबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको र उल्टै धाकधम्की तथा कुटपिटको प्रयास भएको खत्रीले आरोप लगाएका छन्। घटनासम्बन्धी भिडियो प्रमाण आफूसँग रहेको उल्लेख गर्दै उनले निष्पक्ष छानबिन गरी न्याय दिलाउन माग गरेका छन्।

    सहमति हुँदाहुँदै निर्माण अघि बढाएको आरोप

    जग्गाको सिमानासम्बन्धी विवाद समाधानका लागि स्थानीय वडा कार्यालयमा निवेदन दिइएको खत्रीले बताएका छन्। उनका अनुसार छिमेकी विष्णु लोहलाले पनि सोही निर्माणबाट आफ्नो जग्गा अतिक्रमण भएको दाबीसहित निवेदन दिएका थिए।

    विवाद समाधानका लागि भएको छलफलमा तत्काल निर्माण कार्य रोक्ने र सम्बन्धित पक्षबीच थप छलफल गर्ने मौखिक सहमति भएको खत्रीको भनाइ छ। उनका अनुसार २०८३ कार्तिक १ गते जगाती प्रहरी वृत्तमा भएको छलफलमा निर्माण कार्य रोक्ने र कार्तिक १० गते पुनः छलफल गर्ने सहमति भएको थियो।

    तर, सहमतिपछि पनि दसैँ बिदाको मौका पारेर निर्माण कार्य पुनः अघि बढाइएको खत्रीले आरोप लगाएका छन्। विवाद समाधानका लागि छलफल गर्ने सहमति भइसकेको अवस्थामा निर्माणलाई निरन्तरता दिइनु उचित नभएको उनको भनाइ छ।

    उनले सहमति कार्यान्वयन गर्न र विवादित जग्गाको आधिकारिक नापजाँच गरी सिमाना यकिन नहुँदासम्म निर्माण कार्य रोक्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

    सडक मापदण्डमा परेको जग्गाको सिमानाबारे प्रश्न

    खत्रीले आफ्नो परिवारको जग्गा विगतमा ८२ फिट र हाल ७५ फिट सडक मापदण्डमा परेको उल्लेख गर्दै बाँकी रहेको जग्गा आफूहरूले भोगचलन गर्दै आएको बताएका छन्।

    उनका अनुसार सडक मापदण्डका कारण जग्गाको क्षेत्रफल प्रभावित भएको अवस्थामा बाँकी जमिनको सिमाना र स्वामित्वलाई समेत ध्यान दिन आवश्यक छ। त्यसैले विवादित कित्ताहरूको आधिकारिक नापजाँच गरी सडक मापदण्ड, जग्गाधनी पुर्जा र वास्तविक भोगचलनको अवस्था परीक्षण गर्नुपर्ने उनको माग छ।

    खत्रीले जग्गाधनी पुर्जालगायतका कागजातका आधारमा विवादको निष्पक्ष छानबिन गर्न र अतिक्रमण भएको पुष्टि भए कानुनबमोजिम कारबाही गर्न आग्रह गरेका छन्।

    निर्माण रोक्न, जग्गा फिर्ता गराउन र क्षतिपूर्ति दिन माग

    खत्रीले आफू र आफ्नो परिवारमाथि अन्याय भएको दाबी गर्दै विवादित संरचनाको निर्माण रोक्न, अतिक्रमण भएको पुष्टि भए जग्गा फिर्ता गराउन तथा कानुनविपरीत कार्यमा संलग्न देखिने व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्। अतिक्रमणबाट क्षति पुगेको पुष्टि भए उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउनुपर्ने उनको माग छ।

    उनले विवादलाई थप जटिल बन्न नदिन स्थानीय तह, नापी कार्यालय तथा आवश्यकताअनुसार प्रहरी र अन्य सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने बताएका छन्।

    यद्यपि, विवादित जग्गाको वास्तविक सिमाना, अतिक्रमण भए–नभएको अवस्था र निर्माणसम्बन्धी कानुनी पक्ष आधिकारिक नापजाँच तथा सम्बन्धित निकायको अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

    यस विषयमा आरोपित विश्वेश्वर थापा, सूर्यविनायक नगरपालिका–९ को वडा कार्यालय तथा जगाती प्रहरी वृत्तको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। आरोप स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समेटिनेछ।

    प्रतिकृया दिनुहोस्