
भक्तपुर, कात्तिक २० गते । चक्रपाणि स्मारक प्रतिष्ठानले भाषाविद् तथा मूर्धन्य साहित्यकार चक्रपाणि चालिसेको १४४औँ जन्मजयन्ती तथा स्मृति दिवस विभिन्न साहित्यिक कार्यक्रमसहित सम्पन्न गरेको छ। सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुई साहित्यकार र दुई विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ।
कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् मूत्ररोग विशेषज्ञ प्राडा अर्जुनदेव भट्टलाई २० हजार रुपैयाँ राशिसहितको ‘चक्रपाणि स्मरण पुरस्कार–२०८३’ प्रदान गरिएको छ। त्यसैगरी, नङ्खेलस्थित मदरल्याण्ड इङ्गलिश बोर्डिङ स्कुलकी छात्रा रोहिणी शिल्पकार र गाम्चास्थित रेन्बो इङ्गलिश सेकेन्डरी स्कुलका छात्र युनिक निरौलालाई जनही ५ हजार ५५ रुपैयाँ राशिसहितको ‘वैजनाथ शुभद्रा चालिसे प्रोत्साहन पुरस्कार–२०८३’ प्रदान गरिएको छ। उक्त पुरस्कार वैजनाथ चालिसे र उनकी धर्मपत्नीको नाममा स्थापना गरिएको हो। त्यस्तै, युवाकवि शशिश्री आचार्यलाई ‘गोमाश्री वाङ्मय पुरस्कार–२०८३’ बाट सम्मान गरिएको छ।
सो अवसरमा प्रतिष्ठानद्वारा वार्षिक रूपमा प्रकाशित हुँदै आएको ‘चक्रपाणि साहित्य वार्षिक’ को चौथो अङ्क (कविता विशेषाङ्क) समेत विमोचन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिकाको विकास र समृद्धिका लागि आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराखी काम गरिरहेको बताए। नेपालको संविधानअनुसार आफ्नो कार्यकाल अब छ महिना मात्र बाँकी रहेको उल्लेख गर्दै उनले गर्नुपर्ने काम धेरै भएकाले दृढतापूर्वक अघि बढिरहेको बताए। साथै, आफ्नो कार्यकालमा जनताबाट प्राप्त साथ र सहयोगप्रति आभार व्यक्त गरे।
नेपाली भाषा, साहित्य र समग्र वाङ्मयको उन्नयनमा समर्पित चक्रपाणि स्मारक प्रतिष्ठानको संस्थागत विकास, स्तरवृद्धि र स्थायित्वका लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँ बजेट निकासा गर्ने र थप १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि सूर्यविनायक नगरपालिका–५ का वडाध्यक्ष राजकुमार जोशीले कटुञ्जे चक्रपाणि चालिसेलगायत अनेकौँ चिकित्सक, प्राध्यापक, साहित्यकार, सङ्गीतकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको जन्मथलो र कर्मभूमि रहेको बताए। उनले प्रतिष्ठानको कोष वृद्धि तथा संस्थागत विकासका लागि आफ्ना पिताको नाममा ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
कार्यक्रममा युवा, विद्यार्थी तथा स्थापित पुस्ताका गरी ५१ जना कविले आ–आफ्ना कविता वाचन गरेका थिए। साहित्यिक सिर्जना र पुस्तान्तरणलाई जोड्ने उद्देश्यसहित आयोजित कविता वाचनले कार्यक्रमलाई थप साहित्यिक र सिर्जनात्मक बनाएको थियो।
कार्यक्रममा आमन्त्रित सम्पूर्ण अतिथिहरूको समय, लगनशीलता, मूल्य–मान्यता र संस्कारसहितको उपस्थितिप्रति प्रतिष्ठानका सदस्यसचिव एवम् ‘चक्रपाणि साहित्य वार्षिक’ का कार्यकारी सम्पादक रामगोपाल आशुतोषले धन्यवाद ज्ञापन गरेका थिए। साथै, वार्षिकको चौथो अङ्कका लागि कविता उपलब्ध गराउने ९१ जना कविप्रति कृतज्ञता व्यक्त गर्दै उनले साहित्यिक अभियानमा सबैको योगदान महत्त्वपूर्ण रहेको बताए।
चक्रपाणि चालिसेको भाषा, साहित्य र वाङ्मयप्रतिको योगदानको स्मरण गर्दै सम्पन्न कार्यक्रमले स्थानीय साहित्यिक प्रतिभाको सम्मान, नयाँ पुस्तामा सिर्जनात्मक चेतनाको विकास तथा नेपाली भाषा–साहित्यको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको भूमिकालाई थप उजागर गरेको छ।










