
भक्तपुर, कात्तिक १९ । सूर्यविनायक नगरपालिका वडा नं. ९ को नङखेलस्थित नवनिर्मित वडा प्रशासनिक भवन उद्घाटन गरिएको छ। बिहीबार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले एक कार्यक्रमबीच भवनको उद्घाटन गर्नुभएको हो।
नवनिर्मित भवनबाट बुधबारदेखि नै वडा कार्यालयको नियमित सेवा प्रवाह सुरु भइसकेको छ। दुई रोपनी ११ आना क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनका लागि कुल दुई करोड ३६ लाख रुपैयाँ खर्च भएको जनाइएको छ। आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएसँगै वडाको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख थापाले आफू पहिलोपटक २०७४ सालमा नगरप्रमुखमा निर्वाचित हुँदा नगरपालिका व्यवस्थित प्रशासनिक संरचना, पर्याप्त कर्मचारी, आवश्यक ऐन–कानुन तथा भौतिक पूर्वाधारको अभावमा रहेको स्मरण गर्नुभयो। अहिले ती समस्या क्रमशः समाधान हुँदै गएको उल्लेख गर्दै उहाँले स्थानीय सरकारको संस्थागत विकास र नागरिकलाई सहज सेवा उपलब्ध गराउने दिशामा नगरपालिका अघि बढिरहेको बताउनुभयो।
नागरिकले तिरेको करलाई विकास निर्माण तथा संस्थागत पूर्वाधार विस्तारमा सदुपयोग गर्ने नीति नगरपालिकाले लिएको उहाँको भनाइ थियो। त्यसैगरी, वडा नं. ७ का वडाध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले जनप्रतिनिधिको साढे नौ वर्षको कार्यकालमा सूर्यविनायक नगरपालिकाले पूर्वाधार विकासमा अपेक्षा गरिएभन्दा बढी प्रगति हासिल गरेको बताउनुभयो। यस अवधिमा खानेपानी, सडक, भवन, पुललगायतका क्षेत्रमा विभिन्न विकास निर्माणका काम सम्पन्न भएको उल्लेख गर्दै उहाँले नगरपालिका सुविधासम्पन्न सहरका रूपमा विकसित हुँदै गएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष भगवान खत्रीले नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो। यसअघि साँघुरो भवनबाट कार्यालय सञ्चालन गर्नुपर्दा सेवा प्रवाहमा असहजता हुँदै आएको उल्लेख गर्दै उहाँले आफ्नै सुविधासम्पन्न प्रशासनिक भवनबाट सेवा सञ्चालन गर्न पाउनु वडाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
दशवटा वडा रहेको सूर्यविनायक नगरपालिकामा यसअघि नै वडा नं. ५ अन्तर्गत कटुञ्जेमा अत्याधुनिक सुविधासम्पन्न वडा प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह सुरु भइसकेको छ। वडा नं. ९ मा पनि नयाँ भवन सञ्चालनमा आएसँगै स्थानीय नागरिकले वडा तहबाट प्राप्त गर्ने प्रशासनिक सेवा थप सहज, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।










