News Portal

  • भक्तपुरमा दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सुरु : ५ करोड कारोबारको लक्ष्य

    जनसरा ऐडी २०८२ चैत्र २६
    ३५ पटक

    भक्तपुर २६ चैत्र २०८२ । भक्तपुरमा दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२–८३’ आजबाट सुरु भएको छ। नयाँ वर्ष २०८३ तथा विस्का जात्राको अवसर पारेर सल्लाघारीको चौरमा आयोजना गरिएको महोत्सव ११ दिनसम्म सञ्चालन हुनेछ।


    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले देशभरबाट विस्का जात्रा अवलोकन गर्न आउने दर्शकका कारण यस महोत्सवले भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण केन्द्र (हब) का रूपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले यस्ता महोत्सवले स्थानीय अर्थतन्त्र मजबुत बनाउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो।


    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा भइरहेको महोत्सवको संयोजन दीपक थापाले गर्नुभएको छ। उहाँका अनुसार भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यसहित विगत वर्षदेखि निरन्तर रूपमा महोत्सव आयोजना हुँदै आएको छ।
    महोत्सवमा यस वर्ष विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ राखिएको छ। साथै बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका खेल सामग्रीको व्यवस्था गरिएको छ।


    कार्यक्रममा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीसहित विभिन्न औद्योगिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री गरिने जानकारी दिनुभयो। सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीसमेत समावेश गरिनेछ।

    त्यस्तै, महोत्सव अवधिभर खाना महोत्सव, फेसन शो, नृत्य, हास्यव्यंग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति (कन्सर्ट) दैनिक रूपमा सञ्चालन हुने जनाइएको छ। वैशाख ५ र ६ गते विशेष कन्सर्ट आयोजना गरिने निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो।

    महोत्सवमा करिब १ सय ५० भन्दा बढी स्टलहरू रहनेछन्। आयोजकका अनुसार यस महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्धन गर्नुका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने लक्ष्य राखेको छ।

    oplus_2

    आयोजकले महोत्सव अवधिभर स्टलमार्फत करिब ५ करोड रुपैयाँ बराबरको व्यापार हुने अपेक्षा गरेको छ भने करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली लगायतका जिल्लाबाट दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
    प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ।

    यस महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास तथा पर्यटन विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

    प्रतिकृया दिनुहोस्