News Portal

  • स्वच्छता अभियानदेखि वातावरणीय स्वास्थ्यसम्म : ‘राष्ट्रका लागि २ घण्टा’को हरित यात्राले समात्यो जनस्वास्थ्यको बाटो

    दोलागिरि संवाददाता२०८३ साउन ३०
    ३३ पटक

    भक्तपुर, ३० साउन । ‘राष्ट्रका लागि २ घण्टा’ अभियान अब सडक सफाइ, फोहोर व्यवस्थापन र वृक्षारोपणमा मात्र सीमित नरही वातावरणीय स्वास्थ्य, स्वस्थ जीवनशैली, व्यवहार परिवर्तन र जिम्मेवार नागरिक निर्माणको अभियानका रूपमा विस्तार हुने भएको छ।
    ‘राष्ट्रका लागि २ घण्टा’ अभियान प्रवर्द्धन केन्द्र नेपालको आयोजनामा मध्यपुर थिमी–५, राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शुक्रबार सम्पन्न पहिलो सत्रको कार्यशाला गोष्ठी तथा दोस्रो सत्रको तेस्रो वार्षिक साधारणसभाले वातावरणीय स्वच्छतालाई जनस्वास्थ्यसँग जोडेर अघि बढाउने नीति तय गरेको हो।
    कार्यशालामा ‘स्वास्थ्य प्रवर्द्धनका लागि वातावरणीय स्वास्थ्यको वर्तमान अवस्था, समस्या तथा चुनौती’ विषयमा विषयविज्ञहरूले प्रस्तुति तथा अन्तरक्रिया गरेका थिए। त्यसपछि सम्पन्न साधारणसभामा संस्थाको वार्षिक प्रगति, अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक निर्णय गरिएको थियो।
    कार्यक्रमको अध्यक्षता अभियानका अध्यक्ष मधु ढुङ्गेलले गर्नुभएको थियो भने बागमती प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्का, सूर्यविनायक नगर अस्पतालका सुपरिटेण्डेन्ट प्रा.डा. राकेश बर्मा, सूचना अधिकारी डा. मनिषा कार्की, भक्तपुर अस्पतालका रेडियोलोजिष्ट डा. अम्बिका पोखरेल तथा जीवन विज्ञानका योग प्रशिक्षक सुरेन्द्रमान बिजुक्छेले वातावरण, स्वास्थ्य र नागरिक जीवनबीचको अन्तरसम्बन्धबारे धारणा राख्नुभएको थियो।
    प्रमुख अतिथि थापाले वातावरणीय समस्या केवल वातावरण संरक्षण वा सरसफाइको विषय नभई प्रत्यक्ष रूपमा जनस्वास्थ्यसँग जोडिएको विषय भएको बताउनुभयो। प्रदूषित हावा, अव्यवस्थित फोहोर, दूषित पानी, प्लास्टिकजन्य प्रदूषण, धुलो–धुवाँ तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
    उहाँले वातावरण संरक्षणलाई अभियानात्मक गतिविधिमा मात्र सीमित नराखी नीति, स्वास्थ्य सेवा, शिक्षा र नागरिक व्यवहारसँग जोडेर दीर्घकालीन जनस्वास्थ्य रणनीतिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
    जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्काले वातावरणीय स्वच्छता र जनस्वास्थ्य एकअर्काका परिपूरक भएको बताउँदै रोग लागेपछि उपचार गर्नुभन्दा रोगका वातावरणीय कारण न्यूनीकरण गर्नु बढी प्रभावकारी हुने धारणा राख्नुभयो। स्वच्छ पानी, सफा बस्ती, सुरक्षित खाद्य व्यवहार, विद्यालयको स्वच्छ वातावरण र समुदायस्तरको स्वास्थ्य सचेतनालाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो।
    सूर्यविनायक नगर अस्पतालका सुपरिटेण्डेन्ट प्रा.डा. राकेश बर्माले वातावरणीय जोखिमका कारण स्वास्थ्य संस्थामाथि बढिरहेको भार घटाउन उपचारसँगै रोकथाममुखी अभियान आवश्यक रहेको बताउनुभयो। प्रदूषण, अस्वस्थ वातावरण र जोखिमपूर्ण जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्या न्यूनीकरणका लागि स्थानीय स्तरमै स्वस्थ वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो।
    अस्पतालकी सूचना अधिकारी डा. मनिषा कार्कीले वातावरणीय स्वास्थ्यका विषयमा तथ्यमा आधारित सूचना र जनचेतनाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सामाजिक सञ्जाल, सञ्चारमाध्यम, विद्यालय तथा समुदायमार्फत निरन्तर संवाद सञ्चालन गर्न सके व्यवहार परिवर्तनलाई गति दिन सकिने उहाँको भनाइ थियो।
    भक्तपुर अस्पतालकी रेडियोलोजिष्ट डा. अम्बिका पोखरेलले प्रदूषण, धुलो–धुवाँ र अस्वस्थ वातावरणले विशेषगरी श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी स्वास्थ्यमा पार्न सक्ने दीर्घकालीन असरप्रति नागरिक सचेत हुनुपर्ने बताउनुभयो।
    जीवन विज्ञानका योग प्रशिक्षक सुरेन्द्रमान बिजुक्छेले स्वस्थ वातावरण र स्वस्थ जीवनशैलीबीचको सम्बन्धबारे चर्चा गर्दै योग, श्वास–प्रश्वास अभ्यास, नियमित शारीरिक सक्रियता तथा प्रकृतिसँगको सन्तुलित सम्बन्धलाई दैनिक जीवनको संस्कार बनाउनुपर्नेमा जोड दिनुभयो।
    १,८०० भन्दा बढी बिरुवा रोपण
    अभियानका सचिव गोविन्द प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदनअनुसार अभियानले स्थानीय तह, विद्यालय, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज र स्वयंसेवकसँगको सहकार्यमा विभिन्न वातावरणीय कार्यक्रम सञ्चालन गरेको छ।
    हरियाली अभियानअन्तर्गत सूर्यविनायक, मध्यपुर थिमीलगायत विभिन्न क्षेत्रमा १,८०० भन्दा बढी बिरुवा रोपण गरिएको छ। अभियानले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण, गोडमेल र नियमित अनुगमनलाई समेत प्राथमिकता दिएको जनाएको छ।
    त्यस्तै, प्रत्येक शनिबार अरनिको राजमार्ग तथा विभिन्न सार्वजनिक स्थलमा सञ्चालन हुँदै आएको सरसफाइ अभियानमा स्वयंसेवक, स्थानीयवासी तथा अभियानकर्मी गरी करिब २,५०० जनाको सहभागितामा ३५ टनभन्दा बढी फोहोर संकलन तथा व्यवस्थापन गरिएको प्रतिवेदनमा उल्लेख छ। चाँगुनारायण मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक स्थलको सरसफाइमा समेत अभियानले सहभागिता जनाएको छ।
    विद्यालयलाई वातावरणीय संस्कारको केन्द्र बनाउने
    अभियानले विद्यालयलाई वातावरणीय संस्कार निर्माणको केन्द्रका रूपमा विकास गर्ने नीति लिएको छ। सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमीका विद्यालयमा शिक्षक अभिमुखीकरण, विद्यार्थीका लागि वृक्षारोपण, वातावरणीय व्यवहारसम्बन्धी अभ्यास, मल–माटो व्यवस्थापन, तरकारी तथा फूलखेतीलगायतका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
    चाँगुनारायण–२ स्थित मित्रश्री पाठशालादेखि मध्यपुर थिमीका विभिन्न विद्यालयसम्म विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराई वातावरणीय शिक्षा र व्यवहारिक सीप प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।
    अभियानले वातावरण संरक्षणलाई ट्राफिक सचेतना, वृक्ष संरक्षण, नीति संवाद तथा जलवायु–मैत्री यातायातसँग समेत जोडेको छ। नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम तथा वन कार्यालय र जिल्ला समन्वय समितिको सहयोगमा वृक्ष संरक्षणसम्बन्धी तालिम र अभियान सञ्चालन गरिएको थियो।
    विश्व वातावरण दिवसका अवसरमा ‘प्रकृतिबाट प्रेरणा लिऔँ, जलवायु परिवर्तनसँग लडौँ’ भन्ने सन्देशसहित सानोठिमीबाट नगरकोटसम्म विद्युतीय सवारीसहित वातावरणमैत्री र्‍यालीसमेत आयोजना गरिएको थियो।
    संस्थागत विकासमा जोड
    अभियानले वातावरणीय गतिविधिसँगै संस्थागत संरचना सुदृढीकरणलाई समेत प्राथमिकता दिएको छ। प्रत्येक मंगलबार नियमित बैठकमार्फत कार्यक्रम समीक्षा, आगामी योजना, नीति निर्माण, जिम्मेवारी बाँडफाँट तथा समसामयिक विषयमा निर्णय गर्ने अभ्यास विकसित गरिएको जनाइएको छ।
    आर्थिक वर्ष २०८२/८३ मा स्थानीय सरकार, विद्यालय, सरकारी निकाय, गैरसरकारी संस्था, नागरिक समाज, स्वयंसेवक तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गरिएको र संस्थामा ६८ जना साधारण सदस्यले सदस्यता नवीकरण गरेको प्रतिवेदनमा उल्लेख छ।
    आगामी वर्ष २२ लाख ६० हजारको बजेट
    साधारणसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. २२ लाख ६० हजारको प्रस्तावित बजेट पारित गरेको छ।
    बजेटमा वातावरण तथा स्वास्थ्य, वातावरणमैत्री विद्यालय तथा विद्यार्थी कार्यक्रम, वृक्षारोपण तथा वृक्ष संरक्षण, नियमित सरसफाइ, जनचेतनामूलक गतिविधि, विश्व वातावरण दिवस, संस्थागत विकास तथा समीक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
    बजेटको स्रोतका रूपमा सदस्यता शुल्क, सदस्यता नवीकरण, सहयोग, चन्दा–दान, स्थानीय तथा प्रदेश सरकार, डिभिजन वन कार्यालय, साझेदार संस्था तथा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (CSR) लगायतलाई समेटिएको छ। खर्च व्यवस्थापनमा मितव्ययिता, पारदर्शिता, वित्तीय अनुशासन र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
    ‘दुई घण्टा राष्ट्रका लागि, उज्यालो भविष्य सबैका लागि’
    साधारणसभाबाट पारित आगामी वर्षको नीति तथा कार्यक्रमले वृक्षारोपणसँगै बिरुवाको संरक्षण, गोडमेल, मलजल र दीर्घकालीन हरियाली व्यवस्थापनलाई प्राथमिकता दिएको छ।
    प्रत्येक शनिबार सञ्चालन हुँदै आएको सरसफाइ अभियानलाई सार्वजनिक स्थल, धार्मिक क्षेत्र, नदी–खोला, सडक तथा सामुदायिक क्षेत्रसम्म विस्तार गर्ने योजना अघि सारिएको छ। विद्यालयमा वातावरणीय शिक्षा, प्लास्टिक न्यूनीकरण, फोहोर वर्गीकरण, कम्पोस्ट मल निर्माण तथा व्यवहारिक वातावरण संरक्षणका कार्यक्रमलाई थप व्यापक बनाइने भएको छ।
    त्यस्तै, वातावरणीय स्वास्थ्य, सरसफाइ, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा स्वास्थ्य सचेतनालाई वर्षभरि समुदायसम्म पुर्‍याउने नीति लिइएको छ। अभियन्ताबीच समन्वय, सहकार्य र प्रेरणा अभिवृद्धिका लागि नीति संवाद, अन्तरक्रिया तथा वातावरणीय अवलोकन कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत गरिएको छ।
    अभियानका सल्लाहकार जुना बस्नेतले वातावरण संरक्षणलाई सामाजिक उत्तरदायित्व र नागरिक संस्कारसँग जोडेर अघि बढाएकोमा अभियानको प्रशंसा गर्दै आगामी दिनमा अझ व्यापक जनसहभागिता जुटाउनुपर्ने बताउनुभयो।
    महासचिव नबराज काफ्लेले अभियान कार्यक्रमको सूची मात्र नभई नागरिक चेतना र व्यवहार परिवर्तनको निरन्तर यात्रा भएको बताउनुभयो। उहाँले “स्वच्छता, हरियाली र स्वास्थ्यलाई एकै सूत्रमा बाँधेर अघि बढ्नु नै हाम्रो मूल उद्देश्य हो” भन्नुभयो।
    कार्यक्रममा अभियानका सल्लाहकार अञ्जनादेवी मधिकर्मी र भागिरथा सिटौला, पत्रकार, अभियानका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका अभियन्ताहरूको सहभागिता थियो। दोस्रो सत्रको सञ्चालन सचिव चन्द्रकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने उपाध्यक्ष जयराज पौडेलले स्वागत तथा धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियो।
    ‘राष्ट्रका लागि २ घण्टा’ अभियानको तीन वर्षे यात्राले सडक सफाइबाट सुरु भएको अभियानलाई वृक्षारोपण, वृक्ष संरक्षण, विद्यालय शिक्षा, फोहोर व्यवस्थापन, ट्राफिक सचेतना, वातावरणमैत्री यातायात हुँदै वातावरणीय स्वास्थ्य र जनस्वास्थ्यको बृहत् अवधारणासम्म विस्तार गरेको देखाएको छ।
    अब अभियानको मुख्य चुनौती कार्यक्रमको संख्या बढाउनु मात्र नभई त्यसबाट दिगो परिणाम, नागरिकको व्यवहारमा परिवर्तन र संस्थागत स्वामित्व निर्माण गर्नु रहेको छ। वृक्षारोपणपछि बिरुवा जोगाउने, सरसफाइपछि फोहोर नफाल्ने संस्कार विकास गर्ने, प्लास्टिक न्यूनीकरणलाई व्यवहारमा उतार्ने र वातावरण संरक्षणलाई जनस्वास्थ्यसँग जोड्ने दिशामा अभियानले आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्नुपर्ने देखिन्छ।
    साधारणसभाले आगामी वर्षका लागि “दुई घण्टा राष्ट्रका लागि, उज्यालो भविष्य सबैका लागि” भन्ने मूल नारासमेत अनुमोदन गरेको छ।

    प्रतिकृया दिनुहोस्