News Portal

  • दोलागिरि संवाददाता२०८३ साउन १५
    ४४ पटक

    भक्तपुर, साउन १४ — पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक राजु पाण्डे ले नेपाल इन्जिनियरिङ कलेज (एनईसी) को औपचारिक भ्रमण गर्दै नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा कलेजले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन्।

    भ्रमणका क्रममा उनले इन्जिनियरिङ शिक्षाको गुणस्तरीय विकास, दक्ष प्राविधिक जनशक्ति उत्पादन तथा पोखरा विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा अभिवृद्धिमा नेपाल इन्जिनियरिङ कलेजले खेलेको भूमिकाको सराहना गरे। उनले कलेजको शैक्षिक वातावरण, आधुनिक भौतिक पूर्वाधार, दक्ष प्राध्यापक तथा कर्मचारी र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको बताए।


    भ्रमणका अवसरमा कार्यवाहक प्राचार्य मोहन ध्वज केसी तथा विभिन्न शैक्षिक विभागका प्रमुखहरूसँग भएको छलफलमा शैक्षिक गुणस्तर सुदृढीकरण, परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने, पाठ्यक्रम व्यवस्थापनमा सुधार गर्ने तथा विश्वविद्यालय र आंगिक तथा सम्बन्धनप्राप्त कलेजबीचको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
    परीक्षा नियन्त्रक पाण्डेले विश्वविद्यालयले शैक्षिक क्यालेन्डरलाई नियमित र व्यवस्थित बनाउने, तोकिएको समयमा परीक्षा सञ्चालन गर्ने, नतिजा समयमै र पारदर्शी रूपमा प्रकाशन गर्ने तथा निष्पक्ष, मर्यादित र भयमुक्त परीक्षा वातावरण सुनिश्चित गर्न निरन्तर काम गरिरहेको जानकारी दिए। उनले विश्वविद्यालय र सम्बन्धनप्राप्त कलेजबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै शैक्षिक तथा प्रशासनिक चुनौतीहरूको समाधानका लागि विश्वविद्यालय प्रतिबद्ध रहेको बताए।


    कार्यवाहक प्राचार्य मोहन ध्वज केसीले नेपाल इन्जिनियरिङ कलेजले तीन दशकभन्दा बढी समयदेखि इन्जिनियरिङ शिक्षा, प्राविधिक जनशक्ति विकास तथा पोखरा विश्वविद्यालयको शैक्षिक उत्कृष्टतामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। उनले विद्यार्थी र सम्बन्धनप्राप्त कलेजहरूको हितलाई केन्द्रमा राखेर नीति तथा निर्णयहरू अघि बढाउनुपर्नेमा जोड दिए।

    सन् १९९४ मा स्थापना भएको नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालय स्थापना हुनुभन्दा अघिदेखि नै सञ्चालनमा रहेको नाफारहित सामाजिक शैक्षिक संस्था हो। विगत तीन दशकदेखि कलेजले शैक्षिक उत्कृष्टता, नवप्रवर्तन तथा नेपाल र अन्तर्राष्ट्रिय बजारका लागि दक्ष इन्जिनियर उत्पादन गर्ने आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको छ।

    प्रतिकृया दिनुहोस्