News Portal

  • विनायक शिक्षा निकेतनमा दुई दिवसीय स्क्र्याबल च्याम्पियनसिप सम्पन्न

    बौद्धिक प्रतिस्पर्धामा तुलज प्रजापति उत्कृष्ट

    दोलागिरि संवाददाता२०८३ बैशाख ३१
    ३१ पटक

    भक्तपुर । गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको चौतर्फी विकासलाई प्राथमिकता दिँदै आएको अग्रणी शैक्षिक संस्था विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा दुई दिवसीय स्क्र्याबल च्याम्पियनसिप भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत वैशाख २८ र २९ गते आयोजित प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
    विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा सम्पन्न प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका करिब ९० जना विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूमा लुकेको सृजनात्मक क्षमता प्रस्फुटन गराउने, शब्दभण्डार विकास गर्ने तथा नवीन सोच र तार्किक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।
    प्रतिस्पर्धालाई व्यवस्थित बनाउन कक्षा ४–५, कक्षा ६–७ तथा कक्षा ८–९ गरी तीन समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहमा तीन चरणका खेल सञ्चालन गरिएको थियो, जहाँ विद्यार्थीहरूले आफ्नो बौद्धिक क्षमता, भाषिक दक्षता र रणनीतिक सोच प्रदर्शन गरेका थिए।
    प्रतियोगिताको सिनियर विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाइसकेका मेधावी विद्यार्थी तुलज प्रजापति उत्कृष्ट घोषित भए। लामो समयदेखि नेसनल च्याम्पियनमा छनोट हुँदै आएका उनले अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा चौथो स्थानसमेत हासिल गरिसकेका छन्। यसपटक पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका हुन्।
    त्यस्तै प्रतियोगितामा सागर दुलाल द्वितीय तथा सोमिया श्रेष्ठ तृतीय स्थान हासिल गर्न सफल भए। विजयी विद्यार्थीहरूले उत्कृष्ट शब्दभण्डार, तार्किक क्षमता र खेलकौशल प्रस्तुत गर्दै दर्शक तथा शिक्षकहरूको प्रशंसा बटुलेका थिए।
    कार्यक्रमको समापन समारोहमा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै यस्ता बौद्धिक खेलहरूले विद्यार्थीको मानसिक विकास, आत्मविश्वास अभिवृद्धि तथा सिर्जनशील सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालयले भविष्यमा पनि विद्यार्थीको क्षमता निखार्ने यस्ता रचनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्