
२४ असार २०८४ भक्तपुर । शिक्षालय कलेजको बीबीए (BBA) कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीहरूका लागि “Emotional Intelligence for the Workplace” विषयमा विशेष अतिथि सत्र सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ।

कार्यक्रममा स्रोतव्यक्तिका रूपमा सहभागी हुनुभएकी पूजा डंगोलले कार्यस्थलमा भावनात्मक बुद्धिमत्ताको महत्व, प्रभावकारी सञ्चार कला, नेतृत्व विकास तथा व्यावसायिक उन्नतिका विविध पक्षबारे व्यावहारिक अनुभव र ज्ञान प्रस्तुत गर्नुभयो। उहाँले प्राविधिक दक्षतासँगै भावनात्मक परिपक्वता, सहकार्य, समस्या समाधान क्षमता र सकारात्मक कार्यसंस्कृतिले सफल पेशागत जीवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

सत्रमा सहभागी बीबीए विद्यार्थीहरूले जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए। प्रश्नोत्तर तथा अन्तरक्रियामार्फत विद्यार्थीहरूले कार्यस्थलमा देखापर्ने व्यवहारिक चुनौतीहरू र तिनको समाधानका उपायबारे उपयोगी जानकारी प्राप्त गरेका थिए।
कलेजका अनुसार यस्ता अतिथि सत्रहरूले विद्यार्थीहरूलाई पाठ्यक्रममा सीमित नराखी वास्तविक कार्यक्षेत्रका अनुभव, नेतृत्व क्षमता, सञ्चार सीप तथा व्यक्तित्व विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।
शिक्षालय कलेजले भविष्यमा पनि विद्यार्थीहरूलाई उद्योग, व्यवसाय तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गराउँदै व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

















