
५ असोज २०८३ काठमाडौं । प्रगतिशील लेखक सङ्घ नेपालले आफ्नो ७५औँ स्थापना दिवस तथा हीरकवर्ष घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले प्रगतिशील लेखक संघको ७५ वर्षे यात्राका लागि शुभकामना व्यक्त गर्दै नेपाली साहित्य तथा सांस्कृतिक आन्दोलनमा संघले पुर्याएको योगदानको चर्चा गरेका छन्।

केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा चिनका लागि नेपाली पूर्वराजदूत, लेखक तथा साहित्यकार डा.कृष्ण ओलि प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा पूर्वमन्त्री तथा बागमती प्रदेशका माननीय गंगानारायण श्रेष्ठ, पूर्वमन्त्री सत्य पौडेल लगायत राजनीतिक, साहित्यिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा रक्तिम अभियानका अध्यक्ष गिरीप्रसाद बढा, राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव आरसी न्यौपाने, अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटी, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष मातृका पोखरेल, जितेन्द्र देव गिरी, मधुसुधन गिरी लगायत प्रलेसका केन्द्रीय सल्लाहकार, वरिष्ठ प्रगतिवादी साहित्यकार तथा साहित्यिक–सांस्कृतिक क्षेत्रका अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वक्ताहरूले प्रगतिशील लेखक संघ नेपालको ७५ वर्षे यात्रा नेपाली साहित्य र प्रगतिशील सांस्कृतिक आन्दोलनको महत्वपूर्ण इतिहास भएको बताए। उनीहरूले बदलिँदो सामाजिक परिवेशमा प्रगतिशील साहित्यको भूमिका अझ व्यापक बनाउनुपर्नेमा जोड दिँदै संघको हीरकवर्षको सफलताको शुभकामना व्यक्त गरे।
य
वक्ताहरूले प्रगतिशील लेखक संघले स्थापनाकालदेखि नै नेपाली समाजका वर्गीय, सामाजिक, सांस्कृतिक तथा राजनीतिक अन्तरविरोधलाई साहित्यका माध्यमबाट अभिव्यक्त गर्दै आएको चर्चा गरे। श्रमजीवी तथा उत्पीडित समुदायका आवाजलाई साहित्यको मूल प्रवाहमा ल्याउन, सामाजिक न्याय र समानताको पक्षमा सिर्जनात्मक हस्तक्षेप गर्न तथा नयाँ पुस्तालाई प्रगतिशील साहित्यिक आन्दोलनसँग जोड्नुपर्नेमा उनीहरूले जोड दिएका

७५औँ वर्षलाई वर्षभरि विभिन्न कार्यक्रमका रूपमा मनाइने
प्रगतिशील लेखक संघले ७५ वर्ष पूरा गरी हीरकवर्षमा प्रवेश गरेको अवसरलाई वर्षभरि विभिन्न साहित्यिक, सांस्कृतिक तथा सम्मानका कार्यक्रमसहित मनाउने भएको छ। हीरकवर्षका अवसरमा संघले नेपाली वामपन्थी तथा प्रगतिशील आन्दोलनमा रहेर लेखन र साहित्यिक क्षेत्रमा योगदान गरेका स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम अघि सारेको छ। यसै क्रममा २०८३ मंसिर ६ गते बागबजारको हार्दिक होटलमा पाँचवटा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरिएको जानकारी दिइएको छ।

संघले प्रदान गर्ने पुरस्कारहरूमा प्रलेस प्रतिष्ठा पुरस्कार श्यामप्रसाद स्मृति पुरस्कार, प्रलेस प्रतिभा पुरस्कार,प्रलेस बाल साहित्य पुरस्कार, प्रलेस युवा पुरस्कार र शक्तिलाल स्मृति पुरस्कार रहेका छन्।
यी पुरस्कारमार्फत नेपाली वामपन्थी आन्दोलन तथा प्रगतिशील साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका लेखक, साहित्यकार तथा स्रष्टाहरूलाई सम्मान गरिने बताइएको छ।
त्यसैगरी हीरकवर्षका अवसरमा देशका ७ वटै प्रदेशमा बृहत् साहित्यिक तथा सम्मान कार्यक्रम आयोजना गर्ने योजना पनि संघले अघि सारेको छ। प्रदेशस्तरमा लामो समयदेखि प्रगतिशील साहित्य, लेखन तथा सांस्कृतिक आन्दोलनमा योगदान पुर्याउँदै आएका ७५ पर्वलागेका अग्रज लेखक तथा साहित्यकारहरूलाई सम्मान गरिने बताइएको छ।

इतिहासको समीक्षा गर्दै नयाँ पुस्तासँग जोडिने प्रतिबद्धता
कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालको ७५ वर्षे इतिहासको समीक्षा गर्दै आगामी कार्यभारबारे समेत छलफल भएको थियो। वक्ताहरूले ७५ वर्षको इतिहासलाई केवल विगतको गौरवका रूपमा स्मरण गर्नेभन्दा त्यसबाट शिक्षा लिएर वर्तमानका सामाजिक, सांस्कृतिक तथा साहित्यिक प्रश्नलाई सम्बोधन गर्दै नयाँ पुस्तालाई आन्दोलनसँग जोड्नुपर्ने धारणा राखेका थिए।प्रगतिशील साहित्यलाई जनजीवन, श्रम, सामाजिक न्याय, समानता, स्वतन्त्रता र मानवीय संवेदनासँग जोड्दै नयाँ सिर्जनात्मक उचाइ दिनुपर्नेमा वक्ताहरूको जोड थियो।

कार्यक्रममा विभिन्न कृति सार्वजनिक गर्नुका साथै प्रगतिशील लेखक संघको ७५ वर्षे यात्रालाई स्मरण गर्ने विविध कार्यक्रमसमेत आयोजना गरिएको थियो। सहभागी साहित्यकारहरूले संघको हीरकवर्षलाई नेपाली प्रगतिशील साहित्यिक आन्दोलनको विगतको समीक्षा, वर्तमानको बहस र भविष्यको नयाँ कार्यदिशा निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा प्रलेस अध्यक्ष डा. देवि क्षेत्री दुलालको अध्यक्षता र महासचिव डा. पारश ढकालले संचालन गर्नुभयको थियो भने कार्यक्रममा प्रलेसका केन्द्रीय पदाधिकारी, सल्लाहकार, विभिन्न साहित्यिक तथा सांस्कृतिक संगठनका प्रतिनिधि, लेखक, साहित्यकार, पत्रकार र स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
















