
२६ मंसिर, भक्तपुर।
प्याब्सन भक्तपुर जिल्ला कार्यसमितिको तालिम उपसमितिले Inclusive Education Nepal सँगको सहकार्यमा आयोजना गरिएको Safeguarding & Child Protection Training for Principals 2082 आज सफलतापूर्वक सम्पन्न भएको छ। मध्यपुर ठिमीस्थित यचु पार्टी भेन्युमा सम्पन्न तालिममा करिब ७६ जना संस्थापक, प्रिन्सिपल, डायरेक्टर तथा प्रशासनिक भूमिकामा रहेका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा Inclusive Education Nepal का अध्यक्ष राम तिवारीले बालबालिकामाथि हुन सक्ने शारीरिक, मानसिक, भावनात्मक तथा यौनिक हिंसाका प्रकार, जोखिम पहिचान विधि, विद्यालयस्तरीय सुरक्षामापदण्ड, बाल संरक्षण नीतिको आवश्यकता तथा प्रभावकारी गुनासो सुनुवाइ प्रक्रियाबारे विस्तृत प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले सुरक्षित विद्यालय वातावरण निर्माण गर्न संस्थाले अनिवार्य रूपमा बाल संरक्षण नीति तर्जुमा गर्नुपर्ने तथा गुनासो सुन्ने समिति गठन गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै तालिम उपसमिति संयोजक सिङ्ग लामाले हालका सामाजिक तथा पारिवारिक चुनौतीहरूलाई ध्यानमा राख्दै विद्यालयले बालसुरक्षा सम्बन्धी नीतिगत तथा व्यावहारिक तयारी मजबुत पार्न अत्यावश्यक भएको उल्लेख गर्नुभयो। तालिमले विद्यालयहरूमा बालमैत्री सुरक्षा संरचना स्थापना गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

त्यसैगरी, प्याब्सन जिल्ला कार्यसमिति अध्यक्ष राजन कसपालले प्याब्सनले सञ्चालन गर्दै आएका विभिन्न शैक्षिक तथा सह–शैक्षिक कार्यक्रम—बालकथा लेखन कार्यशाला, फोनिक्स तालिम, टेबल टेनिस, नृत्य तथा फुटसल प्रतियोगिता, प्याब्सन कन्क्लेभ, आइटम राइटिङ तालिम आदि—बारे जानकारी गराउँदै यस्ता क्रियाकलापहरूले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन तालिम उपसमिति सदस्य दीपेन्द्र भण्डारीले गर्नुभएको थियो। कार्यक्रम सहभागीहरूले तालिमले विद्यालयमा सुरक्षित, अनुशासित र बालमैत्री वातावरण निर्माणका लागि उपयोगी मार्गदर्शन प्रदान गरेको प्रतिक्रियासमेत दिएका छन्।




















