
भक्तपुर, २०८२ मंसिर २५ ।
नेशनल प्याब्सन भक्तपुरले आगामी SEE 2082 मा परीक्षा दिने विद्यार्थीहरूका लागि आयोजना गरेको अनिवार्य विज्ञान विषय परीक्षा अभिमुखीकरण कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाभरका दर्जनौं स्कूलका विद्यार्थी र शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरकी प्रमुख श्रीमती कमला ज्ञवालीले छात्र–छात्रालाई परीक्षा तयारीमा वैज्ञानिक विधि, आत्मविश्वास र नियमित अभ्यासको महत्त्वबारे प्रकाश पार्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।

त्यस्तै, विज्ञान विषयका विज्ञ तथा प्रख्यात मोटिभेसनल स्पिकर डा. चिन्तामणि पन्थीले विद्यार्थीहरूलाई प्रभावकारी अध्ययन सीप, मनोबल व्यवस्थापन तथा परीक्षा अभिमुख प्रेरणादायी सत्र दिएका थिए। उहाँको प्रस्तुतिलाई विद्यार्थीहरूले अत्यन्तै उपयोगी र उत्साहवर्धक रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने सबै विद्यालयहरूप्रति नेशनल प्याब्सन भक्तपुरले आभार व्यक्त गरेको छ। संस्था अध्यक्ष तथा पदाधिकारीहरूले SEE तयारीलाई प्रभावकारी बनाउने उद्देश्यसहित आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाएका छन्।
कार्यक्रममा ओएसिस पब्लिकेशन, सत्य शक्ति पुस्तक भण्डार, सेराटोन बैंक्वेट र मन्त्र साउन्डले सहकार्य गरेका थिए।




















