
भक्तपुर/भाद्र ६ – नेसनल प्याव्सन भक्तपुरको सामूहिक लोकनृत्य तथा एकल नृत्य प्रतियोगिता–२०८२ चाँगुनारायण–नगरकोट फेदीस्थित क्वालिटी स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगिताको एकल नृत्यतर्फ सूर्यविनायक नगरपालिका–५ अवस्थित सेन्ट जोन स्कुलकी छात्रा विबिशा बिबिसा तामाङ प्रथम स्थान हासिल गर्न सफल भइन्। यसैगरी, सामूहिक लोकनृत्यतर्फ सूर्यविनायक नगरपालिका–८ मा रहेको प्रसादी पाठशालाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान जित्यो।

एकल नृत्यतर्फ दोस्रो स्थान म्हारमेन तामाङ (सेक्रेड हार्ट एकेडेमी, सूर्यविनायक–गपली), तेस्रो स्थान दीपशिखा खड्का (यूनिटी स्कुल, सूर्यविनायक–५) र सान्त्वना स्थान सरिना भुषाल (ईडेन गार्डेन स्कुल, सूर्यविनायक–३) ले प्राप्त गरे।
सामूहिक लोकनृत्यतर्फ भने दोस्रो स्थान यूनिटी स्कुल (सुर्यविनायक–५), तेस्रो स्थान ऋतम्भरा (चाँगुनारायण–२) र सान्त्वना स्थान ईडेन गार्डेन स्कुल (सुर्यविनायक–३) ले पाएका थिए।
कार्यक्रमको अध्यक्षता क्वालिटी स्कुलका प्रिन्सिपल तथा नेसनल प्याव्सन भक्तपुरका सल्लाहकार जीबी खड्काले गरेका थिए भने प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का रहे। उनले विजेताहरूलाई शिल्ड, मेडल र प्रमाण–पत्रद्वारा सम्मानित गर्दै आयोजक स्कुललाई भव्य कार्यक्रम सम्पन्न गराएकोमा धन्यवाद ज्ञापन गरे। साथै प्याव्सन भक्तपुरले सदस्य विद्यालयहरूलाई यस्ता विविध कार्यक्रम आयोजनाको जिम्मेवारी दिइने जानकारी समेत दिए।
आयोजक प्रिन्सिपल जीबी खड्काले प्रतियोगितामा एकल तर्फ १३ विद्यालय र सामूहिक तर्फ १८ विद्यालयले सहभागिता जनाएको बताए। कार्यक्रममा निर्णायक, पदाधिकारी तथा सदस्यहरूलाई आयोजक तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।
ृ





















