News Portal

  • उत्पादन सम्बन्ध र संस्कृति

    भेषराज भुसाल२०८१ आश्विन २८
    २०८ पटक

    मानव जातिको उदय नै श्रम संस्कृतिबाट भएको हो। आजको २१औ शताब्दीको मानव सभ्यता त्यही श्रम शक्तिअथवा श्रम संस्कृतिको विकसित  र विस्तारित रुप हो। मानव समाजको चालक शक्तिको रुपमा रहेको संस्कृतिको क्षेत्र अत्यन्त व्यापक छ।
    संस्कृति  मानिसको बोली व्यवहार,रहन सहन, साहित्य, कला,संगीत  नाटक  रितिरिवाजमा अर्थात जीवन पद्धतिमा झल्किने वा परिलक्षित हुने गर्दछ।सिंगो विश्व मानव समाजमा कुनै – कुनै संस्कृतिमा समानता पाइन्छ   जस्तै, जन्म, विवाह र विजयमा उत्सव मनाउनु खुसियाली बाड्नु तथा बिमार हुँदा, हार हुँदा र मृत्यु हुँदा सान्त्वना , संवेदना दिनु र शोक मनाउनु। यसका अतिरिक्त विभिन्न समाजमा उत्पादन संवन्ध अनुसारका आ-आफ्ना संस्कृति हुने गर्दछन। वर्ग विभाजित समाजमा संस्कृति पनि वर्गीय पक्षधरतामा आधारित हुन्छन।  मानव समाजमा स्थापित जुन सुकै संस्कृतिलाई विभिन्न पक्षहरुले प्रभाव पार्ने भए पनि आधारभूत र  निर्णायक तत्व उत्पादनको प्रकृति र उत्पादन सम्वन्ध नै हो।
    यसै विषयमा संक्षिप्त  चर्चा गर्नु यस लेखको उद्देश्य हो।

    १) संस्कृति के हो? 

    व्यापक रुपमा भन्नू पर्दा  संस्कृति, भौतिक, आर्थिक,सामाजिक, शैक्षिक ,सांस्कृतिक, नैतिक,एवं राजनैतिक तथा वैचारिक अभ्युदय सम्वन्धी मानिसहरुका साधनाहरु र विश्व दृष्टिकोणको समष्टिगत अभिव्यक्ती हो। यसले मानिसहरुको वैयक्तिक,एवं सामाजिक जीवनका स्वरुपहरुको निर्माण  निर्देशन, नियमन र नियन्त्रण  गर्दछ।   यसको विकासक्रम मानव सभ्यताको विकास क्रम संगै भएको हो। उत्पादनका निम्ति (बाच्नकालागी)संघर्ष  वर्गसंघर्ष र वैज्ञानिक प्रयोगका तीन महान आन्दोलनको आवस्यकताले विविध प्रकारका संस्कृतिहरुको सिर्जना भयो। संक्षिप्त रुपमा भन्नू पर्दा गोर्किको निम्न भनाईलाई लिन सकिन्छ;” मानवद्वारा निर्मित दोस्रो प्रकृति नै संस्कृति हो।” यसको अर्थ हो ढुंगा माटो प्रकृति हो त्यसद्वारा मानव निर्मित घर वा पर्खाल संस्कृती हो।त्यसै गरि कड्वेलले भनेकाछन;”विज्ञानले संसारलाई बदल्दछ, कला र संस्कृतिले मानिसलाई बदल्दछ।” अत:संस्कृति भित्र  आज सम्म मानव जातिले निर्माण  वा सिर्जना गरेका समस्त वास्तुकला र ललित कलाहरु पर्द्छन।  जसलाई भौतिक संस्कृति र आत्मिक संस्कृतिमा विभाजन गर्न सकिन्छ।
    (२ )  उत्पादन प्रणालीले  संस्कृतिमाकसरी प्रभाव पार्दछ ? 

    आज भन्दा केही दशक पहिले सम्म  हाम्रै नेपाली समाजमा ” जसका जन उसैका वन, जसका वन उसैका धन” भन्ने भनाई व्याप्त थियो। “सन्तानले डाडा-कांडा ढाकुन , तीनै कन्या पाचै पुत्र होइर जाउन भन्ने आशिर्वाद दिइन्थ्यो। यो सामन्ती समाजको उत्पादन
    सम्वन्धले निर्धारण गरेको संस्कृति थियो। कुनै जनजाति समाजमा परिवारलाई विखण्डन हुनबाट बचाउन सम्पत्तिलाई विभाजन हुनबाट रोक्न बहुपती प्रथाको संस्कृति अपनाइएको थियो भने कतै बहुपत्नी प्रथा अपनाइएको थियो  यस्तो संस्कृति सामन्तहरुको भोगबिलाश पनि
    थियो र श्रमजीवी किसानमा पनि यो प्रथा देखिन्थ्यो। उपरोक्त दुबै संस्कृतिका अवशेष अझै विद्यमान छन। उत्पादन सम्वन्धमा आएको फेरबदलले आज संयुक्त परिवारिक संस्कृती हराउदै गएको छ। सानो परिवार शुखी परिवारको संस्कृति मौलाउदोछ। सामन्ती उत्पादन
    प्रणालीको  नेतृत्वदायी भूमिका  हटेर पुजीवादी उत्पादन प्रणाली नेतृत्वमा आउँदा सामन्ती उत्पादन प्रणालीमा शिल्पकार श्रमिक समुदायले मात्र गर्ने पेशागत कार्य  जस्तै छालाका वस्तु उत्पादन गर्ने चर्मकारी पेशा, धातुका औजार तथा भांडाकुडा बनाउने पेशा , कपडा सिलाउने
    तथा बाजा बजाउने पेशा, गीतकार संगीतकार र वाद्यवादन यन्त्र बनाउने  लगायतका पेशाहरु कथित माथिल्लो जातिका मानिसले समेत अंगाल्न थाल्नु र श्रमिक समुदायका मानिसहरुले पनि सामन्ती समाजको उत्पादन प्रणालीमा कथित माथिल्लो जातिले मात्र अपनाउने पेशाहरु जस्तै शिक्षक , कर्मचारी ,  सेना प्रहरी  व्यापारी आदि अपनाउन पाउने वातावरण सिर्जना हुनुले सैद्धान्तिक रुपमा मानवताको कलंकको रुपमा रहेको छुवाछूत संस्कृति अन्त्य भएको छ। छुवाछूत प्रथा लाई कानुनले दण्डनीय अपराध ठहर गरेको छ। यद्यपि व्यवहारमा त्यसका अवशेषहरु  निभ्न लागेको बत्तीको अन्तिम तेज जस्तै देखिने गरेकाछन।   सामन्ती टुक्रे उत्पादन प्रणालीमा लागेका किसानहरु
    भन्दा मज्दुरहरु धेरै प्रतिशील हुन्छन।किसानहरुमा जस्तो संकृणता मज्दुरमा हुदैन। यो उत्पादन सम्बन्ध कै कारण हो।  मध्यम वर्ग र निम्नमध्यम वर्गमा  अस्थिर र ढुलमुले संस्कृति  हावी हुन्छ। यो व्यक्तिको मात्र दोष होइन। एकातिर थोरै भएपनी उत्पादनका साधनहरु माथी निजी स्वामित्व कायम हुनुले धनाढ्य वर्गीय संस्कृति अंगाल्न पुग्नु, अर्को तिर आफै श्रमिक पनि हुने हुनाले श्रमिक वर्गको संस्कृति पनि अगाल्नु पर्ने भएकाले  ढुलमुले संस्कृति  देखा पर्दछ।मानिसका संस्कारहरु उत्पादन र वर्गीय दृष्टिकोणद्वारा निर्धारण हुन्छन।  तराईका किसानहरूले अनुकुल मौसमको कामना गर्दै समयथानको पुजा गर्दछन। पाहडका अधिकांश किसानले खेत वारिमा ढुंगाको थान बनाइ पशु
    पंक्षिको बलि चढाउने गर्दछन।  जंगलमा चराउने पशु चौपायाहरुको सुरक्षाहोस भन्दै सिद्धबाबाको पूजा गर्दछन। ब्यापारीले पैसा राखने तिजोरीको दिनमा तीन चोटि धूप बालेर पूजा गर्दछन।कात्रो बेच्ने ब्यपारीले पनि आफ्नो माल धेरै बिकोस भन्ने कामना गर्दछ र तिजोरिकै पूजा गर्दछ। पहाडका अधिकांश स्थानहरूमा वर,पिपल,स्वामी जस्ता पुस्तौंपुस्ता टिक्ने, पहिरो जानबाट रोक्ने र प्रशस्त अक्सिजन दिने वृक्ष रोप्ने गर्दछन।  तराइका थारु समुदायले महुवाका रुखहरुलाइ  बढी  संरक्षण गर्दछन। किनभने महुवाको फूलबाट मर्चा जस्तो कुनै वस्तु न मिलाइकन उच्चकोटिको मदिरा बन्दछ भने त्यसको बिजुला(दाना) बाट घिउ निकालिन्छ।  मज्दुरहरुले यन्त्र, उपकरण र विभिन्न औजारहरुको पूजा गर्दछन।अधिकांश आदिवासीहरुले पानीका श्रोत नदि नाला, तलाव, बोट्बृक्ष , वन्जंगल रआगो र भूमिको पूजा गर्ने गर्दछन। जसबाट उनिहरुको जीवनयापन चलेको छ। त्यसैको पूजा अर्थात प्रकृतिलाई सम्मान गर्ने संस्कृतिले पनि उत्पादन सम्बन्ध कै आधार
    जनाउदछ। नेपालका आदिवासी जनजाति अधिकांश प्रकृति पूजक छन जसले मौसम परिवर्तन हुँदा वा बाली नाली लगाउदा वा भित्र्याउदा रमाइलो गरि उत्सव मनाउने गर्दछन।  उंभौली उधौली, माघी , साउने संक्रान्ती आदियी उत्पादनसंग जोडिएका  संस्कृति हरु हुन। मजदुरहरू ले ८घण्टा श्रम, ८ घण्टा आराम र ८घण्टा मनोरञ्जनको माग राखी गरिएको आन्दोलनको स्मरण गर्दै हरेक वर्ष
    मै(may) दिवस मनाउने गर्दछन।  महिलाहरूका निम्ति राजनैतिक एवं आर्थिक समानता, समान कामको समान
    ज्यालाको बलिदानीपूर्ण आन्दोलनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउदछन।यी सबै उत्पादन सम्बन्ध र उत्पादनको प्रकृतिसंग सम्वन्धित छन।

    उपरोक्त उदाहरणबाट पनि के पुष्टि हुन्छ भने उत्पादन संवन्ध, उतपादनको क्षेत्र र वर्गीय दृष्टिकोणद्वारा
    मानिसका संस्कृतिहरु निर्धारण हुने गर्दछन।

    ३)    श्रमजीवी  जनताका संस्कृतिका मूलभूत  आवश्यक तत्वहरु:-

    (क)  संस्कृतिमा एक पिढीबाट अर्को पिढीमा हस्तान्तरण गर्न सकिने गुण हुनु पर्दछ।
    (ख)  संस्कृति गतिशील हुनु पर्दछ।
    (ग) संस्कृतिमा समाजको आदर्श झकिनु पर्दछ।
    (घ) संस्कृतिमा सामाजिक अनुकुलता एवं आवश्यकता  पुर्ती गर्न सक्ने गुण हुनु पर्दछ।

      (ङ) संस्कृतिले सामाजिक  मूल्यहरुको निर्माण गर्न सक्नु पर्दछ।
      (च)  संस्कृतिले मानिसलाई स्वाभिमानी, परिश्रमी र समानता सहितको स्वतन्त्रता पुर्वक बाच्ने आधार खडा गर्नु पर्दछ।
    (छ) संस्कृतिमा  अन्याय अत्याचारका विरुद्ध प्रतिरोधी क्षेमता हुनु पर्दछ।
      (ज)  संस्कृतिले  समाजको अग्रगामी रुपान्तरणको मार्ग निर्देश गर्नु पर्दछ।
      
    के वर्तमानमा  हाम्रो समाजमा विद्यमान संस्कृतिमा उपरोक्त तत्वहरु समावेश छन?   छैनन। किन? किन भने वर्ग विभाजित समाजमा संस्कृति पनि वर्गीय हुन्छ।    उत्पादन  सम्बन्ध   र उत्पादन  तरिकाले  संस्कृति निर्माण हुँदै जान्छ।   आज नेपालको उत्पादन सम्बन्ध मूलरूपमा दलालपूजीवादी छ। सामन्ती टुक्रे उत्पादन प्रणालीले आफ्नो अस्तित्वको रक्षाका लागि  संघर्ष गरिरहेकोछ।त्यसैले  नेपालमा दलाल पूजीवादी संस्कृति हावी भैरहेको छ यद्यपि सामन्तीराजनीतिक सत्ता ढले पनि सांस्कृतिक सात्ता ढलेको छैन। त्यसैको आधारमा टेकेर सामन्तवादी तत्वले टाउको उठाउने दुष्शाहश गरिरहेको छ।   धर्म,स्वर्ग,नर्क , आत्म पर्मात्म  भाग्य , जन्म पुनर्जन्म  जस्ता मन गढन्ते काल्पनिक  कुराहरुलाई जवर्जस्त रुपमा जनतामा लाद्न अनेक प्रकारका प्रपंच रच्नु  सामन्ती संस्कृति हो।  राजा महाराजाको  गुणगान, देवत्वकरण ,  सेवा-चाकडी,  चाप्लुसी यसका विशेषता हुन।  सामन्ती संस्कृतिको विरोध गर्नेलाई  दैत्य, राक्षस र नास्तिकको संज्ञा दिनु समन्ती संस्कृति नै हो।  ” घोकन्ती विद्या , धावन्ती खेती , सेवन्ती राजा” अर्थात विद्या आर्जन गर्नका लागि घोक्नु पर्छ, खेती राम्रो बनाउन धायी रहनु पर्दछ र राजालाई खुसी पार्न सेवा गनु पर्दछ भन्ने  कुरा जन- जनमा स्थापित गरिएको थियो । यसमा कृषि उत्पादनमा निरन्तर लागिरहने कुरा त अहिले पनि ठिक छ तर  सामन्ती युगको घोकन्ते विद्या र सेवन्ती राजा भन्नेचिन्तनलाई अन्त्य गरि दिनु पर्दछ। सामन्ती टुक्रे उत्पादन सम्वन्धबाट आएका नेता कार्यकर्ता भएकाले क्म्युनिष्ट पार्टीमा समेत  सामन्ती संस्कृतिका अवशेष रहेका छन। आफ्नो जिम्मेवारी इमान्दारीका साथ पालन गर्ने भन्दा पनि नेताका वरि परि घुम्न र चाकडी गर्न मन पराउने ,  उत्पादन मूलक शारीरिक श्रममा भाग लिन हिच्किचाउने उत्पादनमा सहभागी नहुने वितरण  समान हुनु पर्दछ भन्ने माग राख्ने, उत्पादन मूलक शारीरिक श्रमलाई महान र गौरवशाली पेशा नठान्ने,आफ्नो स्वार्थ पूरा भएमा नेतृत्वको देवत्वकरण गर्ने र स्वार्थ पूरा नभएमा राक्षसी करण गर्नेयी सामन्ती संस्कृति कै उपज हुन।   विगतका आन्दोलनहरूबाट सामन्तवादी सत्ता अन्त्य भएर देश भक्त राष्ट्रिय पूजीपती र श्रमजीवी जनताको हातमा राज्यसत्ता स्थापित भएको भए सामन्ती संस्कृति पनि अन्त्य हुने थियो  ,राज्यसत्ता दलाल पुजीवादी तत्वको हातमा पुग्यो वा पुर्याइयो। दलाल पूजीवाद भनेको सामन्तवाद र साम्राज्यवादको अवैध सन्तान भएकोले  सामन्तवादी संस्कृतिको अन्त्य गर्न सक्दैन र चाहदैन पनि।  वर्तमान नेपालमा सामन्तवादी र दलाल पूजीवादी उत्पादन सम्वन्धको मिश्रण भएको कारण सेवा,चाकडी र दलाली दुबै संस्कृति विद्यमान छन। शक्ति केन्द्रमा रहेका व्यक्तिहरूको सेवा चाकरी गर्ने र दलाली गरेर कमाएको पैसाबाट जीवनयापन गर्ने संस्कृती मूल प्रवृत्ति बनेकोछ।आज व्यक्तिले आफ्नो जग्गा आफै बिक्री गर्न सक्दैन। किसानले आफ्नो उपज बिचौलीया दलाल मार्फत बिक्रि गर्न वाद्यछ।सरकारी अड्डामा होस या वैदेशिक रोजगारमा सबै तिर दलालहरकै बिगबिगी छ।  जसले सबैसम्वन्धहरुलाई पैसामा बदलिदिएकोछ। पैसा नै सबै थोक हो मानिस कहि होइन भन्ने संस्कृतिले समाज आक्रान्त छ। सामुहिक उत्पादन अनुसारको  सामुहिक स्वामित्व हुने उत्पादन सम्बन्ध स्थापित न हुदा सम्म  माथी उल्लेखित श्रमजीवी जनताको संस्कृतिमा हुने आवश्यक तत्वहरु आम रुपमा स्थापित हुन सक्दैनन। उत्पादन सम्वन्धमा  स्वामित्वको स्वरुप नै निर्णायक हुने गर्दछ।  उत्पादनमा स्वामित्वको स्वरुप र उत्पादनको प्रकृतिले  सामान्य दैनिक जीवनको कार्यमा कस्तो संस्कृतिको विकास गरेको हुन्छ भन्ने कुरा  अवधि भाषिको सानो उदाहरण लिउ, उनिहरुले खाना खाने कुरालाई तीन किसिमले
    अभिव्यक्त गर्दछन; कामकाजी युवाहरुले ” खाना खावा जाय” अर्थात खाना खाउ भन्छन। मागी हिड्ने जोगीहरुले ” भोजन पावा जाय” अर्थात  यो पनि खाना खाउ नै भनेको हो।  शारीरिक अवस्थाले उत्पादनमा सहभागी बन्न नसक्ने आफ्ना सन्तानको सहारामा बाच्नु पर्नेले” जेवां जाय” भन्छ्न। यो पनि खाना खाउ नै भनेको हो तर यिनको फरक- अर्थछ। काम गर्नेले खानेहो भिख माग्नेले पाउने हो , वृद्ध तथा अशक्तहरुले बाच्नका
    लागि मात्र खानेहो भन्ने संस्कृतिलाई अभिव्यक्त गर्दछन।   आम नागरिक लाई सभ्य सुसंस्कृत बनाउनका लागि उत्पादन प्रणालीमा फेरबदल गर्नु  अर्थात आधारभूत उत्पादनका साधनहरु माथीको स्वामित्वलाई मुठ्ठी भर सामन्त, दलाल र नोकरशाही पुजीपतिको हारबाट खोसेर
    श्रमजीवी अनताको हातमा ल्याउनु अनिवार्य छ।   नेपाल कम्युनिस्ट पार्टीले  अघिसारेको उत्पादन सम्वन्धमा ” एकीकृत स्वामित्व प्रणाली”  राज्य प्रणालीमा ” नेपाली विशेषताको समाजवाज” संस्कृतिको क्षेत्रमा  विघटन , विसर्जन र रुढिवादबाट मुक्त वैज्ञानिक  “सी” संस्कृति  स्थापना गरेर मात्र भातृत्व, समानता र स्वतन्त्रताको वैज्ञानिक संस्कृति स्थापना गर्न सकिनेछ। त्यसका लागि संघर्षका समग्र मोर्चाको प्रयोग गर्ने एकीकृत जनक्रान्तिको बाटोमा लामवद्ध हुनु आजको कार्यभार बन्न गएकोछ।

    नयाँ संस्कृति बाट साभार 

     

    प्रतिकृया दिनुहोस्