


बहराइन। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बहराइनमा आयोजित एक विशेष कार्यक्रममार्फत सम्पूर्ण नेपाली समुदायलाई देशलाई उज्यालो बनाउने अभियानमा साथ दिन भावनात्मक आह्वान गरेका छन्।
कार्यक्रममा सहभागी प्रवासी नेपालीहरूसँग सम्वाद गर्दै घिसिङले भने, “उज्यालो अभियान लिएर अगाडि बढौँ, यो अभियान भनेको देशलाई उज्यालो बनाउने, तपाईँको अनुहार उज्यालो बनाउने, हाम्रा बा–आमा, बालबच्चाहरूको अनुहार उज्यालो बनाउने अभियान हो। तपाईँहरू साथ दिनुस्, म अगाडि बढ्न तयार छु।”
उनले नेपालमा उर्जा र पूर्वाधार विकासका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै, अब देशका लागि समर्पित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। “देश बनाउन हामी सबै एकजुट हुनुपर्छ। प्रवासी नेपालीहरूले आ–आफ्नो ठाउँबाट योगदान गर्न सक्छन्। म तपाईँहरूको साथ खोज्दैछु,” उनले थपे।
कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गरेर आम नेपालीको जीवनमा उज्यालो ल्याएको उदाहरण दिँदै, आगामी दिनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्ने संकेतसमेत गरे।
उनको यो प्रतिबद्धतापूर्ण अभिव्यक्तिले सामाजिक सञ्जालमा ठूलो उत्साह सिर्जना गरेको छ। देशभित्र र बाहिर रहेका नेपालीहरूबाट समर्थन र प्रेरणादायक प्रतिक्रियाहरू आइरहेका छन्। धेरैले घिसिङलाई भविष्यको नेतृत्वकर्ताका रूपमा हेर्न थालेका छन्।
बहराइनस्थित नेपाली समुदायले कार्यक्रमको अवसरमा कुलमान घिसिङको कर्मशीलता, इमान्दारिता र राष्ट्रियता प्रतीको निष्ठाको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रमले प्रवासी नेपालीहरूमा देशप्रेम र योगदानको भावना थप बलियो बनाएको छ।