


काठमाडौं, श्रावण ८। नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकता अपरिहार्य भएको बताएका छन्। पुष्पलाल स्मृति प्रतिष्ठान र समाजवादी मोर्चा नेपालद्वारा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव विप्लवले ‘कम्युनिष्ट एकताको विकल्प छैन’ भन्ने धारणा राखेका हुन्।
उनले गणतन्त्रको नाममा दलालहरूको झारपात मौलाएको भन्दै तीलाई उन्मूलन नगरी साँचो गणतन्त्र सम्भव नरहेको टिप्पणी गरे। “गणतन्त्रका फूलहरू झारपातले ढाकेका छन्, अब झार पल्टाएर मात्रै फूल देखिन्छ,” उनले भने।
‘नयाँ प्रस्ताव र दृष्टिकोणको खाँचो’
महासचिव विप्लवले आजको समय नयाँ वैचारिक प्रस्तावको माग गरिरहेको उल्लेख गर्दै भने, “हामी कुन बाटोमा जाने हो? हाम्रो राजनीति, सामाजिक, सांस्कृतिक र आर्थिक मोडेल के हुने हो? यसबारे स्पष्ट दृष्टिकोण नबनेसम्म समाजवादको बाटो देखिँदैन।” उनले दलाल पुँजीवाद र विचौलियावादविरुद्ध स्पष्ट धारको आवश्यकतालाई जोड दिए।
“हामीलाई चाहिएको हो– एकता, मोर्चा, सहकार्य र सहयात्रा। त्यसका लागि चाहिन्छ निश्चित दृष्टिकोण र बहस,” उनले प्रष्ट पारे। श्रमिक वर्गलाई देशको मालिक बनाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै विप्लवले समाजवादी ध्रुवीकरण अपरिहार्य भएको बताए।
प्रचण्ड : ‘संयुक्त बलियो मोर्चा र पार्टी एकता नै पुष्पलाललाई सच्चा सम्मान’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरू दलाल पुँजीवादविरुद्ध एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए। “संयुक्त बलियो मोर्चा र पार्टी एकता नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हो,” उनले भने।
अध्यक्ष प्रचण्डले पार्टीभित्र आलोचना हुने संस्कृतिको बचाउ गर्दै आफूमाथि सधैं आक्षेप लागे पनि जनवादप्रति प्रतिबद्ध रहेको दाबी गरे। जनार्दन शर्मालाई लक्षित गर्दै उनले भने, “कतिपय साथीहरू सिङ्गौरी खेल्न चाहन्छन्, खेल्न दिन्छु। तर भिन्न मत दमन गर्दिन, छलफल गर्ने वातावरण दिन्छु।”
उनले विगतका राजनीतिक उपलब्धिहरू आफूले नेतृत्व गरेका आन्दोलन र प्रक्रियाबाट प्राप्त भएको दाबी गर्दै भने, “२०४८ मा माओवादी धारलाई एकताबद्ध गरियो, २०५२ मा विद्रोह गरियो, २०६३ मा शान्ति प्रक्रियामा हस्ताक्षर गरियो। यी सबै नेतृत्व मसँगै थियो।”
माधव नेपाल : ‘सरकार परिणाममुखी छैन’ कम्युनिस्टको भन्न पनि लाज भयो
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेतृत्वमा सरकार रहे पनि जनताले सकारात्मक परिणाम महसुस गर्न नसकेको बताएका छन्। “कम्युनिष्ट प्रधानमन्त्री भए पनि मुलुकमा जनताको निराशा गहिरिँदै गएको छ,” उनले भने।
छाउपडी प्रथा र जातीय विभेद जस्ता सामाजिक कुरीतिहरू हटाउन सरकार र पार्टीहरू असफल भएको टिप्पणी गर्दै उनले बहसको खाँचो औंल्याए। “कस्तो आर्थिक नीति लागू गर्ने? कस्तो अर्थतन्त्र आवश्यक छ? यसबारे बहस जरुरी छ,” अध्यक्ष नेपालले स्पष्ट पारे।
उपेन्द्र यादव : ‘कम्युनिष्ट आन्दोलन दिशाविहीन’ भयो
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन लगभग समाप्त हुने दिशातर्फ उन्मुख भएको बताएका छन्। “कम्युनिष्ट आन्दोलन लिबरल डेमोक्रेसीतर्फ भड्किँदैछ,” उनले चिन्ता व्यक्त गरे।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई पार्टीभित्रैबाट षड्यन्त्र गरेर हटाइएको ऐतिहासिक सन्दर्भ कोट्याउँदै उनले भने, “कम्युनिष्ट पार्टीको जन्ममै षड्यन्त्र थियो, अहिले पनि त्यही चलिरहेको छ।”
पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीले नेपालका प्रमुख कम्युनिष्ट नेताहरूबीच दृष्टिकोण, रणनीति र बहसको स्तर फरक भए पनि एकताको चाहना साझा रहेको स्पष्ट देखिएको छ। कसैले एकता र मोर्चाको आग्रह गरे, कसैले विगतका उपलब्धिहरूको चर्चा गरे, भने कसैले विफलता र दिशाविहीनता औंल्याए। तर सबै नेताहरूले पुष्पलालप्रति सम्मान व्यक्त गर्दै उनका आदर्शलाई पुनः स्मरण गरे।
