Skip

News Portal

  • नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु सुत्केरी

    सुत्केरी महिलालाई २ हजार रुपैयाँ र न्यानो कपडा नि:शुल्क

    दोलागिरि संवाददाता२०८२ साउन ६
    १७ पटक

    भक्तपुर, मध्यपुर थिमी ।
    मध्यपुर थिमी नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई केन्द्रमा राख्दै नयाँ ‘आमा सुरक्षा कार्यक्रम’ प्रारम्भ गरेको छ। नगरपालिकाअन्तर्गत सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालबाट जेठ २१ गतेदेखि औपचारिक रुपमा शुरु भएको सो कार्यक्रममा सुत्केरी महिलाहरुलाई नगद भत्ता र न्यानो कपडासहितको सेवा उपलब्ध गराइएको छ।

    जनस्वास्थ्य शाखाका प्रमुख श्रीकृष्ण प्रजापतिका अनुसार, गत असार मसान्तसम्म उक्त अस्पतालमा सुत्केरी भएका ७ जना आमाहरूलाई २/२ हजार रुपैयाँ यातायात खर्च स्वरूप प्रदान गरिनुका साथै, आमा र नवजात शिशु दुबैका लागि न्यानो लुगा समेत नि:शुल्क वितरण गरिएको छ।

    “यो कार्यक्रम मातृशिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी कदम हो,” प्रजापतिले बताए, “अबदेखि यस अस्पतालमा सुत्केरी हुने सबै महिलाहरूलाई २ हजार रुपैयाँको नगद भत्ता र आवश्यक सामग्री उपलब्ध गराइनेछ।”

    नगरबासीहरूसँगै आसपासका क्षेत्रका गर्भवती महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले स्वास्थ्य सेवा सुलभ र सुरक्षित बनाउने विश्वास लिइएको छ। मध्यपुर थिमी नगरपालिका मातृशिशु स्वास्थ्यमा विशेष ध्यान दिँदै आएको छ भने यो कार्यक्रम त्यसैको निरन्तरता हो।

    नगरपालिकाका अनुसार, यो कार्यक्रम सुदृढ पार्दै आगामी दिनमा थप सेवा सुविधा विस्तार गर्ने योजना पनि रहेको छ। मातृमृत्युदर घटाउने र नवजात शिशुको सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो।

    स्थानीयवासी तथा सेवा लाभग्राहीहरूले कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गरेका छन् र यस्ता योजनाले गरिब तथा पिछडिएका वर्गका महिलालाई राहत दिने बताएका छन्।

    प्रतिकृया दिनुहोस्