Skip

News Portal

  • एमालेभित्रको असन्तोष सतहमा : मदन भण्डारीकी छोरी उषाकिरणको पार्टी नेतृत्वप्रति आक्रोशपूर्ण अभिव्यक्ति

    दोलागिरि संवाददाता२०८२ साउन ८
    ८ पटक

    काठमाडौं । नेकपा एमालेभित्रको पछिल्लो राजनीतिक तनावको पृष्ठभूमिमा पार्टी संस्थापक नेता मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीले केपी शर्मा ओली नेतृत्वमाथि सार्वजनिक असन्तोष पोखेकी छन्।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी पुनस् प्रवेशलाई एमाले केन्द्रीय कमिटीले रोक लगाएपछि उषाकिरणले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिँदै पार्टीभित्रको निर्णय प्रक्रिया र नेतृत्व शैलीप्रति गम्भीर प्रश्न उठाएकी छन्।

    “नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन्,” भन्दै उनले एमाले नेतृत्वले फाउन्डेसनलाई कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाएकी छन्।

    पार्टी एकता, जबज (जनताको बहुदलीय जनवाद), र मदन भण्डारी फाउन्डेसनको भूमिकालाई लिएर पनि उषाकिरणले गहिरो असन्तुष्टि व्यक्त गरेकी छन्। उनले लेखेकी छन्– “हृदयविदारक कुरा के हो भने, यो नेतृत्वले नै फाउन्डेसन बनाएको हो र अहिलेचाहिँ हामीमाथि षड्यन्त्रको आरोप लगाउनेरु”

    त्यस्तै, ओली र विद्यादेवी भण्डारीबीचको अन्तर्वार्ता विवादलाई लिएर पनि उषाकिरणले “कोही एकजनाले त सत्यलाई तोडेका छन्” भन्दै गहिरो प्रश्न उठाएकी छन्।

    उनको भनाइले नेकपा एमालेभित्र वैचारिक मतभेद मात्र नभई नेताहरूको व्यक्तिगत असन्तुष्टि समेत सतहमा आउन थालेको स्पष्ट संकेत गरेको छ।

    पार्टी संस्थापक नेताको छोरी तथा मदन भण्डारी फाउन्डेसनकी अध्यक्षका हैसियतले आएको उनको यस्तो सार्वजनिक प्रतिक्रिया एमालेका लागि गम्भीर सन्देशका रूपमा लिइएको छ।

    प्रतिकृया दिनुहोस्