


भक्तपुर, साउन ९ — वीर अस्पतालको १३६औं स्थापना दिवसको अवसरमा सूर्यविनायक नगरपालिका वडा नं ७, गुण्डूको समन्वयमा आयोजना गरिएको निशुल्क बृहत स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ।
शिविरमा सूर्यविनायक वडा नं ७ तथा आसपास क्षेत्रका बासिन्दाहरूमध्ये १४६४ जनाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विभिन्न २६ प्रकारका रोगहरूको विशेषज्ञ चिकित्सकहरूले जाँच गरेका शिविरमा एक व्यक्तिले विभिन्न सेवा लिँदा गणनामा जम्मा ४५३१ सेवाहरू प्रदान गरिएको थियो।
शिविरमा वीर अस्पतालका निर्देशक डा. दिलिप शर्मा नेतृत्वमा ५० जना विशेषज्ञ चिकित्सकहरू र १२५ जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
स्वास्थ्य शिविरको निरीक्षण तथा अवलोकन पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख बासुदेव थापा, नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेसका जिल्ला सचिव सुशील बस्नेत, स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईं, नेसनल प्याव्सन भक्तपुर अध्यक्ष संजय खड्का लगायतका विशिष्ट व्यक्तिहरूले गर्नु भएको थियो।
त्यसैगरी सामुदायिक सेवा केन्द्र कटुज्यका अध्यक्ष सन्तोष ढुङ्गेल, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, रेडक्रस तथा स्काउट ग्रुपको समेत सक्रिय उपस्थिति र सहकार्य रहेको थियो।
शिविरमा उल्लेखनीय सहभागिता र कुशल व्यवस्थापन भएको भन्दै निरीक्षणमा सहभागी अतिथिहरूले वडा अध्यक्ष रविन्द्र सापकोटालाई बधाई तथा धन्यवाद व्यक्त गरे।
कार्यक्रमको समापनमा वडा कार्यालयले वीर अस्पताललाई शिविर सफलतापूर्वक सञ्चालन गरेकोमा सम्मान स्वरूप कदर पत्र प्रदान गरेको थियो। साथै शिविर स्थान उपलब्ध गराएकोमा हिमाल एकेडेमीलाई पनि उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा अध्यक्ष सापकोटाले बृहत शिविरमा सामान्यदेखि जटिल रोगसम्मको जाँच गरिएको हुँदा शिविर अत्यन्तै लाभदायी तथा प्रभावकारी भएको बताए।
