
भक्तपुर, चैत ४ — भक्तपुरको चाँगुनारायण–६, नगरकोट फेदीस्थित क्वालिटी इंग्लिस सेकेन्डरी स्कूल (QESS) को २७ औँ स्थापना दिवसको अवसरमा आयोजित अभिभावक दिवस, सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयले विद्यार्थीहरूको शैक्षणिक, सांस्कृतिक तथा शारीरिक गतिविधिमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्ने, अभिभावकहरूबाट सल्लाह–सुझाव लिने तथा शुभचिन्तकहरूको शुभकामना ग्रहण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायतका विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। साथै, शैक्षणिक उत्कृष्टता, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शिक्षण प्रणालीप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिएका थिए। शुभचिन्तक तथा अतिथिहरूले विद्यालयको प्रगतिप्रति खुशी व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अभिभावक, शुभचिन्तक तथा सञ्चारकर्मीप्रति विद्यालय प्रशासनले हार्दिक आभार व्यक्त गरेको छ। साथै, विद्यालयले आगामी दिनहरूमा यस्ता कार्यक्रममार्फत विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।














