
भक्तपुर, साउन २८ । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको अन्तर–विद्यालय अंग्रेजी हिज्जे प्रतियोगितामा सूर्यविनायक–३ स्थित ईडेन गार्डेन स्कुलले प्रथम स्थान हासिल गरेको छ।
मध्यपुर थिमी–९, बोडेमा अवस्थित संस्कार गुरूकुलको आयोजनामा सम्पन्न आधारभूत तहको प्रतियोगितामा चाँगुनारायण–२ दुवाकोटको ऋतम्भरा पाठशालाले दोस्रो र सूर्यविनायक–९ स्थित मदरल्याण्ड स्कुलले तेस्रो स्थान प्राप्त गरे। सान्त्वना पुरस्कार सूर्यविनायक–५, कटुन्जेको यूनिटी स्कुलले जित्यो।
प्रतियोगितामा नेसनल प्याव्सन भक्तपुरमा आबद्ध १९ विद्यालय सहभागी थिए। पहिलो चरणमा ९ विद्यालयको प्रतिस्पर्धाबाट मदरल्याण्ड स्कुल, ऋतम्भरा पाठशाला र डेमोस स्कुल फाइनलमा पुगे। दोस्रो चरणमा १० विद्यालयबीचको प्रतिस्पर्धाबाट ईडेन गार्डेन, यूनिटी स्कुल र एसएस सदन स्कुल फाइनलमा प्रवेश गरे। अन्तिम चरणमा ६ विद्यालयबीच प्रतिस्पर्धा भएको थियो।
संस्कार गुरूकुलका संचालक तथा प्रिन्सिपल अमन हितागंको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे। उनले सदस्य विद्यालयले यस्ता कार्यक्रम आयोजना गरेकोप्रति प्रशंसा गर्दै संस्कार गुरूकुललाई धन्यवाद ज्ञापन गरे।
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ देखि आफ्ना सदस्य विद्यालयमार्फत विभिन्न प्रतियोगितात्मक गतिविधि सञ्चालन गर्दै आएको छ।
