
भक्तपुर, साउन २२ । प्याब्सन भक्तपुरले आयोजना गरेको ‘बालकथा सिर्जना कार्यशाला तथा बालकथा संग्रह प्रकाशन २०८२’ कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सल्लाघारीस्थित मोडर्न स्कूलमा आयोजित पहिलो दिनको कार्यशालामा भक्तपुर जिल्लाका ४३ विद्यालयका ८५ जना विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन्।
कार्यशालाको उद्घाटन कार्यक्रममा प्याब्सन भक्तपुरका प्रतिनिधिहरू, विद्यालयका शिक्षक/शिक्षिका तथा विभिन्न स्रष्टाहरूको उपस्थिति रहेको थियो। कार्यशालामा प्रमुख प्रशिक्षकको रूपमा कार्तिकेय घिमिरे र सहप्रशिक्षकको रूपमा जानुका खतिवडाले बालकथाको शिल्प, संरचना र सिर्जनात्मक प्रविधिबारे प्रशिक्षण प्रदान गर्नुभएको छ।
कार्यक्रमको उद्देश्य बालबालिकामा कथा लेखनमार्फत सृजनात्मक अभिव्यक्तिको विकास गर्नु हो। प्याब्सन भक्तपुरले आउँदो दशैंभित्रै बालबालिकाका कथाहरूको संग्रह प्रकाशित गर्ने लक्ष्य लिएको छ, जसले विद्यार्थीहरूलाई पाठक मात्र नभई कथाकारका रूपमा समेत स्थापित गर्नेछ।
कार्यक्रम संयोजकको भनाइमा, “बालबालिकाको कल्पनाशक्ति र लेखन सीपलाई सजीव बनाउँदै उनीहरूकै स्वरमा बालसाहित्यको नयाँ पुस्ता तयार पार्नु हाम्रो प्रयास हो।”
“विद्यार्थीहरू अब पाठक मात्र होइन, कथाकार पनि!” भन्ने नारासहित सुरु गरिएको यो अभियानले बालसाहित्यमा नयाँ ऊर्जाको संचार गर्ने अपेक्षा गरिएको छ।
