
समीक्षा
गीत गाएपछि मात्र चर्चामा रहने प्रवृत्ति बढेको छ। नेपाली सङ्गीत बजार आज भाइरलवाला यात्रामा छ। भाइरल बन्नका लागि जे पनि, गीत जस्तो पनि लय। म मेरो बाल्यकालका दिनहरू सम्झन्छु। खुशिराम पाख्रिनका गीतहरूको सङ्ग्रह ‘आँसुका भाका’ पुस्तक सानो थियो। धेरै चर्चित गीत थिए। खासमा मलाई श्रमसँग जोडिएको गीत सुन्न र गुन्गुनाउन आँसुका भाका गीत–सङ्ग्रहले सहयोग पुर्यायो। जीवनवादी कोणबाट समाजलाई हेर्ने र श्रमको गीतले बस्तीलाई उठाउने हो भने जतिसुकै नाङ्गो तानाशाह पनि पछाडि हट्न बाध्य हुन्छ। धेरै लामो जनवादी गीत–सङ्गीतको यात्रामा खुशिराम पाख्रिन, जे.बी. टुहुरे, माइला लामाहरूले योगदान दिएको कुरा धेरैलाई थाहा नहुन सक्छ। आन्दोलनको राप र तापमा स्थापित भएकाहरूले पनि आफूलाई सजिलै बिक्री गरेको कुरा हेर्न कतै जानु पर्दैन। सत्तामा जानका लागि र सत्तामा पुगेर पुनः सत्ता खोज्ने परम्परालाई पछ्याइरहनेहरू एउटा ठाउँमा चर्चित पनि छन्। निष्ठा र निरन्तरतालाई एउटा विशेष अवस्थामा पनि जोगाएर जनमनको पीडामा मलम लगाउनेहरू एकाध मात्र छन्।
पछिल्लो समयमा रामेश, रायन, मणि थापाहरूको त्यति चर्चा हुँदैन, कारण के हो त्यति थाहा पाउन सकिँदैन। जे होस् माइला दाइहरू सङ्गीतको यात्रामा मात्र नभएर सिङ्गो राजनीतिलाई सफा गर्ने कर्ममा लागिरहेकै छन्। उनीसँगै एउटा पछिल्लो पुस्ताको युवा दौडिरहेको छ जनसङ्गीतको म्याराथनमा, उनी हुन् अटल सी। अटल सी युवा मात्र होइन, जुझारु युवा, वैचारिक शक्तिले चम्केको एउटा योद्धा भन्न केही असजिलो मान्नु पर्दैन। स्वाभाविक ढङ्गले संसदीय राजनीतिमा फस्दै गएको कलाकारको समूह नियुक्तिमुखी हुँदा एकेडेमीको खाजामा भुल्न थालेको कुरा घामजस्तै छर्लङ्ग छ। उनी भने निरन्तर जगाउने यात्रामा रहेका छन्, जसले सुतेकालाई पनि बिउँझाइरहेको छ।
गीत सिर्जना र गायन यात्रासँग विचार जोडिएन भने रक्सी, चुरोटको विज्ञापनवाला कन्सर्टभन्दा माथि कोही अगाडि बढ्न सक्दैन। जसले विविध खाले अवसरवादलाई त्यागेर निरन्तर एउटा समर्पण भावले आफूलाई साधनामा लगाइरहन्छ, उसैले जस पाउनु पर्छ र पाउँछ पनि। आफ्नो स्वर, कलात्मक सम्बोधन र नृत्यले लाखौँ जनतालाई जुरुक्क उठाउन सामर्थ्य राख्ने आरोह सीको गीत–सङ्ग्रह ‘आउँछन् यादहरू’ यतिबेला बजारमा छ। मूलतः लिपिबद्ध गर्नका लागि यस सङ्ग्रह प्रकाशन गरिएको भए पनि यी गीतहरूलाई श्रव्य र दृश्यमान जोडेसम्म पूरा शक्ति देखिन पाउने छैन। तथापि लिखित रचनालाई जनतासम्म पुर्याउन र गीतमा रहेको भावले देशलाई लुटतन्त्रबाट मुक्त पार्न पठन संस्कृतिसँग मात्र जोडियो भने पनि केही काम लाग्छ नै।
हाम्रो आँगनमा न्यायको घाम नलाग्दै छेक्ने बादलहरू
जनताको हातमा जनसत्ता नपुग्दै रोक्ने पर्खालहरू
होसियार खबरदार जनताहरू जागिसके
दुष्टहरूको चिहान खन्न जनताहरू लागिसके।
(उठ जाग, पृ. ७३)

‘आउँछन् यादहरू’ गीत–सङ्ग्रहभित्र रहेका १४३ ओटा गीतहरूमध्ये यो एउटा सशक्त गीत हो। वर्तमानमा गणतन्त्रको नाममा जनतालाई निर्मम दमन गरेर एकाथरी तस्करहरूको लस्करमा पार्टी कार्यालय मात्र बनाइरहेका छैनन्, उनीहरू सरकारी वन फाँडेर व्यक्तिको मुनाफाका निम्ति केवलकारको धन्दामा लिप्त छन्। दमन र उत्पीडनमा नेपाली जनता छटपटाइरहँदा एक आवाजका साथ जनताको साथमा बोल्ने शक्ति निर्माणको अभियानमा लागेका गीतकार एवम् गायक आरोहले माइला लामाले भनेजस्तै “बमको धमकाले हात चुँडिएर रक्ताम्मे हुँदा पनि माटोलाई मुटुमा सजाएर स्वाभिमानको गीत गाइरहने माटोका गायक” का रूपमा आफूलाई स्थापित गरेका छन्।
वर्तमान अवस्थामा राजनीतिले नपुगालेकालाई गीत–सङ्गीतले एउटा परिवर्तनकामी विचार निर्माणको पाटोमा जोडेर अगाडि बढाउने उत्तरदायित्व पूरा गर्न पनि आरोह सीहरूको भूमिका महत्त्वपूर्ण छ। जनतालाई नायक मानेर समवेत स्वरको माध्यमबाट जागृत गर्ने यात्रामा उनी सम्बोधन गर्दछन्—
तयार बन्छौँ जस्तोसुकै आँधीबेहरी झेल्न
जिते क्रान्ति, हारे जीवन मृत्युसँग खेल्न
लड्छौँ अन्तिम साससम्म हुँदैन तलमाथि।
(पृ. १००)
नेपाली भूमिमा १९९७ सालपूर्व र पछि भएका न्यायपूर्ण आन्दोलन र खासगरी २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धले निर्माण गरेको जनता जगाउने यात्रामा केही विराम लागे पनि त्यसको मूल मर्मलाई सही ढङ्गले समातेर अगाडि बढ्न र थप क्रान्तिको यात्रालाई अझै बलियो बनाउन यी र यस्ता प्रतिबद्धता जाहेर गरिएका रचनाहरूले निकै सहयोग पुर्याउँछन्। जनताको दैनिकीलाई भ्रष्टीकरण बनाउन र उपभोक्तावादी सञ्जाललाई कमिसनको मेलो मिलाउन सहयोगी भइरहेको आजको दलाल अर्थतन्त्र र त्यसमा संरक्षकहरूप्रति खबरदारी गर्दै मूलतः निम्न वर्गको पीडामा मलम लगाउने उनका रचनाले सामान्य पाठकलाई पनि जुरुक्क उठाउँछन्।
विचारको मूल धमिल्याउने चेष्टा गर्नेहरूलाई उनी खुला चुनौती दिँदै नेपाली माटोमा मात्र होइन विश्वभरिका श्रमिकहरूको उचित मूल्य स्थापना गर्ने बाटो निर्माण गर्न जनमुखी सङ्गठन र त्यसलाई लयमा लैजाने जनगायक वा जनकलाकारहरूको एउटा सक्रिय सदस्य गीतकार आरोह सीको प्रतिबद्धता शब्द र कर्म दुवै हिसाबले पुष्टि भएको छ।
आऊ नयाँ सङ्कल्प गरौँ
मनमा अदम्य साहस भरौँ
बाँकी एउटै सङ्घार छ
बाँकी एउटै जङ्घार छ
पूरा गर्न सहिदका सपनाहरू।
(पृ. ५९)
कता–कता सिङ्गो कृतिको शीर्षक नै ‘नयाँ सङ्कल्प’ भएको भए जस्तो पनि लाग्छ। मूलतः यो पुस्तक नयाँ सङ्कल्पको सबुत पनि त हो। हजारौँ नेपाल आमाका असल र उदात्त चेत भएका सहिदहरूको सपनालाई साकार पार्नु भनेको हाम्रो देशलाई श्रमको सम्मान हुने राज्यको रूपमा स्थापित गर्नु नै हो। जहिले झुपडीमा न्यायको घाम उदाउँछ त्यति बेला मात्र यात्राको सार्थक हुन्छ। आज नेपाली राजनीतिलाई प्रतिगमनको बाटोमा जानका लागि वातावरण तयार गरिदिने राज्यसत्ता र लुटको राज्यमा जनताको पसिना र रगतको भोजन गरिरहेका शासकहरूलाई ठाडो चुनौती दिँदै गीतकार आफूलाई विचारमा भावुक रूपमा नपोखेर पटक–पटक प्रतिबद्धता राख्दै अग्रगामी यात्रामा जान आधार तयार गर्छन्। गीत–सङ्ग्रहमा जनतालाई जगाउने गीतहरू छन् नै, यहाँ सङ्गृहीत गीतहरूले कुनै आवेगपूर्ण कुरालाई समर्थन नगरेर जनताको खास वा विशेष मर्मलाई सम्बोधन गरेझैँ लाग्छ।
भन्न त बुर्जुवाहरू यसलाई नारा भन्दछन्। कसले के भन्छन् भन्नेभन्दा पनि वर्गपक्षधरताको कोणबाट हेर्ने हो भने यी गीतहरू निम्न वर्गको पक्षमा खुला दिल र दिमागले रचिएका वर्गसापेक्ष गीतहरू हुन्, जहाँ समाज परिवर्तनका यात्रामा लाग्दाका पीडाहरूलाई गीतमा ढालिएको छ। निराशा वा कुण्ठालाई लय हालेर उकुस परेको कुसंस्कृतिलाई निम्त्याउन लागिपर्ने तथाकथित सुगम सङ्गीतका उद्योगीहरूलाई उनी गीतबाटै जवाफ दिन्छन्—
मार्क्सवाद भट्याउने, पुँजीवाद रोज्ने
सामूहिकता फलाकेर एक्लै जीवन खोज्ने
उपदेश दिने धेरै, सिन्को नभाँच्ने
समाजवाद भन्ने, सामन्तीझैँ जीवन बाँच्ने।
(पृ. १२८)
समाजवादी क्रान्तिलाई काला मौरीहरूबाट नै जोखिम रहेको विषय यहाँ उल्लेख छ। मार्क्सलाई एउटा देवता बनाउने, पुज्ने र त्यही पूजामा पुजारी बनेर भेटी हसुर्ने तथाकथित बिचौलियाका प्रतिनिधिहरूले आफूलाई मार्क्सवादी भन्दाखेरी जनता अझै अलमलमा परेका छन्। यति मात्र होइन, गलत कुरालाई चिर्न नसक्दा नै जनताको साथ प्रतिक्रियावादीले पाइरहेका छन्। रगतको खोला बगाएर ल्याएको गणतन्त्र पैसाको खोलो बगाएर चुनाव जित्नेहरूको हातमा पुगेकोप्रति पनि गीतकार कटाक्ष गर्दछन्। समाजमा आज जनताका पसिना चुस्ने र तथाकथित जनसेवी बन्ने विकासेहरूले असहज स्थिति बनाएको छ, तथापि त्यो भ्रम विस्तारै चिर्दै जानु पर्ने कुरा पनि गीतकार औँल्याउँछन्।
नेपालको मौलिक परिचयलाई पहिचान मान्नु पर्ने कुरामा उनको सहमति छ। नेपाली राष्ट्रियताभित्र धेरै राष्ट्रियता छन्, अर्थात् यो महासामुदायिक भावमा झल्कन सकेन भने एकापक्षले मात्र राज्यको विकासमा केही गर्न सक्दैन। वञ्चितीकरणमा परेका समुदायलाई थप बलियो बनाउन सके मात्र देश समुन्नत बन्न सक्छ, त्यसका लागि वास्तविक राजनीतिक कार्यदिशा हुनै पर्दछ। हाम्रो देशको बाजाले शासकको गुणगान नगरेर सीप र श्रम सौन्दर्यको चेतना फैलाउनुपर्दछ। भूगोलअनुसारका हाम्रा संस्कार र त्यससँग आवश्यक कृषि उपकरण, वाद्य सामग्री, खानपान शैली र प्रकृतिलाई संरक्षण गर्ने तरिका आफैँमा विशेष भएकाले यहाँ देखिने विविधताको इन्द्रेणीको जगेर्ना नगरे राष्ट्र अपूरो हुन्छ। विगतमा दलितलाई गरिएको हेलाहोचो, कर्णालीलाई गरिएको बेवास्ता अनि गरिब र निमुखालाई गरिएको थिचोमिचोभित्र नारी अझै पिल्सिएको इतिहासको ठाउँमा नयाँ समतामूलक समाजको स्थापना गर्ने एउटै सर्त हो—संघर्ष। हरेक न्यायपूर्ण आन्दोलनमा आम नागरिकले चासो राखे मात्र परिवर्तनले संस्थागत स्वरूप पाउने स्थानमा पुग्दछ।
पूर्वमा किरात सभ्यता
पश्चिम खस मौलिकता
छ आफ्नै थारू पहिचान
छ सुन्दर हाम्रो मिथिला
मध्यमा छ हजुर ताम्सालि
बनेवाः थलो हो उपत्यका।
(पृ. १३७)
नेपालको सौन्दर्यलाई थोरै हरफमा निकै कुशलतापूर्वक विन्यास गरेर गीतकारले आफ्नो सन्तुलित विचार र देशको मूल विशेषतालाई राखिदिएका छन्। गीतकार आफ्नी जीवनसाथीलाई समेत अत्यन्त मर्यादित हिसाबले सम्झाउँछन् र माटो खोसेर नेपाललाई योग्य नागरिक बस्ने थलोको रूपमा चिनाउने प्रण गर्दछन्
पढाउनु छ छोरा र छोरीलाई
बनाउनु छ कर्मठ भोलिलाई
जाले रुमाल …
(पृ. १३५)
आफ्नो बाध्यताले श्रमका निम्ति विदेश जाने स्थिति आजको सत्य हो। त्यसलाई अब फरक ढङ्गले बदल्नु जरुरी छ। त्यसैले त जीवनसाथीको माया, सन्तानको आगामी सुन्दर भविष्य मात्र नभएर सिङ्गो राष्ट्रको उन्नत स्थिति निर्माणमा सबैको योगदान आवश्यक भएको कुरा रचनाकार सुझाउँछन्।
आज नेपाली राष्ट्रियता धेरै कमजोर बनेको छ। छिमेकीले हामीलाई हाम्रै कमजोरीका कारण हेपेका छन्। सत्तामा रहनेहरू सत्तासँग राष्ट्रको सीमा मिचिँदा पनि स्वार्थ साटासाट गरेर रमाइरहेका छन्। संसद केका लागि हो? अनौठो स्थिति छ। चुनाव जितेर राज्यसत्तामा पुगेको हुँ भन्नेहरूले मात्र राष्ट्रको सम्पत्ति दोहन गरेका छन्, विदेशी ऋण लिएर अवाञ्छित क्रियाकलाप गरेका छन् भने जनतालाई भोट माग्ने बेलामा मात्र नमस्कार गरेर जिल्याएका छन् भन्ने कुरा नेपालको सीमा सङ्कट प्रस्तुत गरेको गीतबाट स्पष्ट हुन्छ ।
हेर भारत आइसक्यो हेपेर
हामी कति बस्ने हो खपेर
कालापानी लिपुलेक सुस्ता मिच्ने त्यही हो
नालापानी लिम्पियाधुरा टिष्टा लुट्ने त्यही हो।
(पृ. २५)
नेपाली समाज आज अलि अप्ठ्यारोमा छ। लाखौँ युवा पाखुरा बजार्न विदेश जानु परेको छ। यस्तो अवस्थामा देशको राष्ट्रियता कसरी जोगाउन सकिएला? देशको अर्थतन्त्रको अवस्था कमजोर भएको कारण नै यी सबै पक्ष बिग्रँदै गएको हो। नेपाल जोगाउन क्रान्तिकारी विचारले मात्र सक्छ, त्यसका लागि सङ्गठित भएर देशलाई कमजोर बनाउनेहरूलाई ठेगान लगाएर जनताको सर्वोच्चता स्थापित गर्नै पर्छ भन्ने उनको गीतहरूको आशय रहेको छ।
गीतकार आरोह सीका प्रत्येक गीतले व्याख्या–विवेचना गर्दै जाँदा सबै हिसाबले नेपालको जनक्रान्ति पूरा गर्नका निम्ति हाम्रो कार्यभार बाँकी रहेको देखाउँछ। त्यसका लागि हामीले एकजुट भएर जनताको आवाजलाई स्वरबद्ध गर्दै जनक्रान्तिलाई एउटा निर्णायक स्थानमा पुर्याउनु पर्छ भन्ने निष्कर्ष रहेको छ। असल क्रान्तिकारीहरू मात्र सही बाटोमा हिँड्न र हिँडाउन सक्ने अगुवा हुन्। बिचौलियाको चङ्गुलमा परेकाहरूबाट सावधान हुनुपर्दछ। हजारौँ सहिदको रगतले रक्तरञ्जित झण्डालाई निरन्तर उठाउन युवालाई आह्वान गर्न र नेतृत्वलाई सही नीति तय गर्न उनका गीतहरूले सधैँ उत्प्रेरकको काम गरेको छ। उनको कलम जनताको पक्षमा खुलेर बोलेको छ। उनले राखेका विषयले प्रत्येक पाठकलाई लाग्न सक्छ—एउटै भावका गीतहरू रहेछन् कि? होइन, यसले त वर्गसंघर्षको इन्द्रेणीलाई सफा क्रान्ति आकाशमा हेर्न सकिने एउटा कलात्मक र संयोजनमय भावको सात रङसँग तुलना गरेको छ। प्रष्ट विचार र सुबोध लयमा संरचित गीतहरूको सङ्ग्रह ‘आउँछन् यादहरू’ मा जनआवाजको प्रतिनिधिमूलक स्वर रहेको छ। उनी आफ्ना गीतहरूमार्फत परिवर्तनको आशावादी यात्रा तय गर्न सबैको साथको निम्ति आह्वान समेत गर्दछन्।













