News Portal

  • प्रगतिशील लेखक संघद्वारा अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी दोधारा चाँदनीमा हुदैं

    दोलागिरि संवाददाता२०८२ चैत्र १९
    १० पटक

    दोधारा चाँदनी । प्रगतिशील लेखक संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा राष्ट्रिय परिषद् बैठक तथा अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी–२०८२ दोधारा चाँदनी नगरपालिकामा हुने भएको छ। उक्त कार्यक्रम २०८२ साल चैत २० देखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

    कार्यक्रममा भारत, चीन लगायत विभिन्न देशका प्रगतिशील लेखक तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहनेछ। अन्तर्राष्ट्रिय स्तरका स्रष्टाहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण र वैचारिक बहसको केन्द्र बनाउने अपेक्षा गरिएको छ ।

    सङ्गोष्ठीमा समसामयिक साहित्य, प्रगतिशील विचारधारा, सांस्कृतिक आन्दोलन र विश्व साहित्यको वर्तमान अवस्थाबारे गहन छलफल हुने बताइएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रष्टाबीच अनुभव आदान–प्रदान, विचार विमर्श तथा सहकार्यको सम्भावना पनि सुदृढ हुने विश्वास लिइएको छ।

    कार्यक्रमको अर्को आकर्षणका रूपमा सुदूरपश्चिम प्रदेशका स्थानीय झाँकी तथा सांस्कृतिक प्रस्तुति रहनेछन्। स्थानीय कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले विविध सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।

    यस प्रकारका अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रमहरूले नेपालको साहित्यिक क्षेत्रलाई विश्वसँग जोड्न सहयोग पुग्ने र प्रगतिशील साहित्यिक आन्दोलनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्