
कञ्चनपुर, चैत २१ — प्रगतिशील लेखक संघ, नेपालको आयोजनामा चैत २० र २१ गते कञ्चनपुरको दोधार चादनीमा सम्पन्न अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीले ‘दोहोरा चाँदनी ७ बुदेँ घोषणापत्र’ जारी गर्दै साहित्य, राष्ट्रियता र विश्व राजनीतिक अवस्थाप्रति आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ।

कञ्चनपुरमा आयोजीत पत्रकार मार्फत संघले जानकारी गर्दैं नेपाली सीमाको रक्षा तथा राष्ट्रिय स्वाधीनताको लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। सीमावर्ती क्षेत्रका जनजीवन, आवाज र अनुभवलाई साहित्यको मूलधारमा ल्याउने तथा सुदूरपश्चिमका भाषा, संस्कृति, कला र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

सङ्गोष्ठीले वर्तमान समयको चुनौतीलाई आत्मसात् गर्दै प्रगतिशील साहित्यलाई परम्परागत संरचनाबाट मुक्त गरी आधुनिक प्रविधि, नयाँ पुस्ताको सोच र समकालीन यथार्थसँग जोड्नुपर्ने आवश्यकता औंल्याएको छ। समाजवादी मूल्य–मान्यतामा आधारित साहित्य, कला र संस्कृतिको सशक्त विकासमार्फत जनताको भावनालाई अभिव्यक्त गर्ने दिशामा अग्रसर हुने प्रतिबद्धता समेत घोषणापत्रमा उल्लेख गरिएको छ।

त्यसैगरी, घोषणापत्रमा नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विदेशी प्रभाव र हस्तक्षेप बढ्दै गएको आरोप लगाइएको छ। एमसीसीजस्ता सम्झौताहरूले राष्ट्रिय स्वाधीनता कमजोर बनाएको उल्लेख गर्दै यस्ता विषयमा पुनर्विचार आवश्यक रहेको धारणा राखिएको छ। साथै सरकारको दमनकारी तथा अधिनायकवादी प्रवृत्तिप्रति कडा आलोचना गरिएको छ।
स्वतन्त्र विद्यार्थी आन्दोलन, ट्रेड युनियन तथा स्वतन्त्र सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिएको अवस्थाप्रति आपत्ति जनाउँदै लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।

भारत र चीनसँग जोडिएका सीमाविवादका सन्दर्भमा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप भएको उल्लेख गर्दै कूटनीतिक पहलमार्फत न्यायोचित समाधान खोज्नुपर्ने माग गरिएको छ।

अन्तर्राष्ट्रिय सन्दर्भमा अमेरिकी साम्राज्यवादले विश्व शान्ति र स्वतन्त्रतामाथि खतरा उत्पन्न गरेको आरोप लगाउँदै विभिन्न देशमा युद्धको अवस्था सिर्जना भइरहेको निष्कर्ष निकालिएको छ। इजरायल–प्यालेस्टाइन द्वन्द्व, युक्रेन युद्ध लगायतका घटनाप्रति चिन्ता व्यक्त गर्दै युद्धको अन्त्य र दीगो शान्तिको पक्षमा विश्व समुदायलाई आह्वान गरिएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले साहित्यलाई केवल सिर्जनात्मक अभिव्यक्ति मात्र नभई सामाजिक रूपान्तरणको सशक्त साधनका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए। ‘दोहोरा चाँदनी घोषणापत्र’ले प्रगतिशील साहित्यिक आन्दोलनलाई नयाँ ऊर्जा, दिशा र वैचारिक स्पष्टता प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
यसो छ घोषणापत्र













