News Portal

  • साम्राज्यवादी हस्तक्षेपविरुद्ध प्रगतिशील लेखक–साहित्यकारको भूमिकाबारे अन्तरक्रिया सम्पन्न

    दोलागिरि संवाददाता२०८२ माघ १०
    १९४ पटक

    काठमाडौँ । साम्राज्यवादी हस्तक्षेपविरुद्ध प्रगतिशील लेखक तथा साहित्यकारहरूको भूमिका विषयमा केन्द्रित ‘विचार चौतारी ८४ औँ शृङ्खला’ अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा आयोजित उक्त कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नेपालको वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानले कार्यक्रम सहकार्य गरेको थियो।
    कार्यक्रमका प्रमुख वक्ता लीलामणि पोख्रेलले अहिले साम्राज्यवाद नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्न खोजिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “चुनावको नाममा सत्ता पक्ष र प्रतिपक्ष दुवै साम्राज्यवादी एजेन्डाका वाहक बनेका छन्। यस्ता चुनावबाट आउने परिणाम मुलुक र जनताको पक्षमा होइन, खतरा बन्न सक्छ।” उहाँले साम्राज्यवाद आज केवल सैनिक हस्तक्षेपबाट होइन, ज्ञान, प्रविधि, सूचना र सांस्कृतिक आक्रमणमार्फत अघि बढिरहेको उल्लेख गर्नुभयो।


    पोख्रेलले ‘इन्फर्मेसन इन्ट्याक’ र ‘ज्ञान–प्रविधिमाथिको नियन्त्रण’का कारण नै विश्वव्यापी रूपमा जेन–जी आन्दोलन जस्ता नयाँ किसिमका आन्दोलनहरू उठेको बताउनुभयो। कतिपय आन्दोलनहरू परिचालित भए पनि ती विद्यमान व्यवस्थाविरुद्धको असन्तुष्टिको अभिव्यक्ति भएको उहाँको भनाइ थियो।
    कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कम्युनिस्ट पार्टीका सांस्कृतिक मोर्चाहरूले समाज रूपान्तरणका लागि अझ सक्रिय पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले साहित्य, कला र संस्कृति जनताको चेतना बदल्ने महत्वपूर्ण हतियार भएकाले यसलाई संगठित र उद्देश्यपूर्ण ढङ्गले प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो।

    कार्यक्रममा अजय शर्माले टिप्पणीकारको भूमिकामा वैचारिक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। उहाँले साम्राज्यवादी हस्तक्षेपको विरोध केवल राजनीतिक नारामा सीमित नभई साहित्यिक सिर्जना, सांस्कृतिक अभियान र वैचारिक संघर्षमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    अन्तरक्रिया कार्यक्रममा लेखक, साहित्यकार, बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले वर्तमान राजनीतिक अवस्था, साम्राज्यवादी हस्तक्षेप र प्रगतिशील साहित्यको भूमिकाबारे खुला छलफल गरेका थिए।

    कार्यक्रम अध्यक्ष प्रलेस उपाध्यक्ष तथा विभाग प्रमुख समीर सिहँले गर्नु भएको थियो भने कार्यक्रमा उपाध्यक्ष अमृता शर्माले स्वागत मन्तब्य मार्फत उपस्थित सवैलाई स्वागत गर्नु भयको थियो ।

    प्रतिकृया दिनुहोस्