News Portal

  • कर्ण दयाल `सोराडी´को मुक्तकसंग्रह`उथलपुथल´ लोकार्पण

    दोलागिरि संवाददाता२०८२ मंसिर २८
    ७९ पटक

    काठमाडौ/ प्रगतिवादी श्रष्टा कर्ण दयाल `सोराडी´को मुक्तकसंग्रह `उथलपुथल´लोकार्पण गरिएको छ। हामी र हाम्रो कृति समाजद्वारा शनिबार काठमाडौ बालुवाटारस्थित बाल नमूना माध्यमिक बिधालयमा आयोजित कार्यक्रमकाबिच उक्त कृतिको लोकार्पण गरिएको हो।

    साहित्यकार तथा बरिस्ठ समीक्षक प्रा.डा. गोबिन्दमानसिंह कार्की, प्रगतिशील लेखक संघका अध्यक्ष डा.देवी क्षेत्री दुलाल,साहित्यकार बिजय ध्वज थापा, मधुपर्क मासिकका प्रधानसम्पादक त्रिभुवनचन्द्र वाग्ले, जनपत्रकार संगठन नेपाल,अध्यक्ष शेरबहादुर विश्वकर्मा, अखिल नेपाल जनसांस्कृतिक महासंघ महासचिव कुशल बोगटी र कृतिकार कर्ण दयाल `सोराडी´ ले संयुक्त रूपमा कृति लोकार्पण गरेका थिए।

    कार्यक्रमका बक्त्ताहरुले समकालीन नेपाली समाजको विद्यमान उथलपुथलपूर्ण परिस्थितिको अभिव्यक्ति उक्त मुक्तक संग्रहमा भएको भन्दै कृतिले सामाजिक बिकृतिको बिरोध र बिद्रोह चेतको आह्वान गरेको बताएका थिए ।

    लोकार्पण कार्यक्रमका प्रमुख अतिथि एवम् साहित्यकार प्रा.डा. गोबिन्दमानसिंह कार्कीले कृतिको प्रमुख विशेषताबारे चर्चा गर्ने क्रममा उक्त कृति भूइमान्छेको पक्षमा लेखिएको बताउनु भयो।उहाँले समाजका गरिब र धनीबिचको खाडलको चर्चा गरिनु,शहर र गाउँको विभेद र सुकुम्बासीहरुको पीडाको बारेमा सशक्त आवाज उठाइनु,सामाजिक सांस्कृतिक बिकृति एवम् जातीय बिभेददेखि काठमाडौमा बस्ने डेरावालको पीडा बारेमा समेत कृतिमा चर्चा गरिएको बताउनु भयो।

    प्रगतिशील लेखक संघ अध्यक्ष डा.देवी क्षेत्री दुलालले नेपाली साहित्यको इतिहासमा बैतडीको विशेष योगदान रहेको स्मरण गर्दै सहिद दशरथ चन्द, आनन्ददेव भट्ट, झुसे दमाई, लोकेन्द्रबहादुर चन्द लगायतको विशेष भूमिका रहेको उल्लेख गर्नु भयो।उहाँले त्यसैको पछिल्लो निरन्तरताको रूपमा दयालको कृति `उथलपुथल´ पनि बैतडीबाट आई काठमाडौमा कर्मथलो बनाएका सोराडीले ल्याउनु इतिहासको गौरव र निरंतरता भएको बताउनु भयो।

    हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालले सोराडीको अघिल्लो कृति `रुपान्तरण´ आफूहरुले नै बजारमा ल्याएको स्मरण गर्दै यतिबेला अर्को कृति समेत आफ्नै संस्थाले अगाडि ल्याउन पाउनु खुशीको कुरा भएको बताउनु भयो।उहाँले आगामी दिनमा समेत यसप्रकारका रचनाकर्ममा लेखको निरन्तरताको अपेक्षा रहेको भताउनु भएको थियो।

    जनपत्रकार संगठन नेपाल,अध्यक्ष शेरवहादुर विश्वकर्माले प्रस्तुत मुक्तकसंग्रहले विद्यमान सामाजिक, राजनीतिक र आर्थिक यथार्थको प्रतिबिम्बन गर्दै समस्या समाधानको रूपमा समाजवादी प्रणाली र जीवन पद्धति अनिवार्य रहेकोबारे प्रष्ट्याएको बताउनु भयो।शुभकामनाको क्रममा उहाँले देशमा बिगत २००७ साल देखि प्रत्येक दशदश बर्षमा देशले उथलपुथल खोज्ने गरिएको परिस्थितिको अब अन्त्य भएर एउटा लय लिने बेला आएको उल्लेख गर्दै कृतिको गर्भमा क्रान्ति चेत रहेको उहाँको भनाइ थियो।

    अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीले कृतिकारको व्यबहारिक स्वभाव हेर्दा निकै शान्त देखिए पनि उहाँका रचनाहरुले समाजलाई उथलपुथल बनाउने गरेको बताउनु भयो।उहाँले मुक्तकसंग्रहको शीर्षक र त्यसमा समाहित सामग्रीहरुले बर्तमानको समयको प्रतिकको रूपमा व्यक्त गरेको बताउनु भयो।

    कार्यक्रममा आफ्नो कृति लेखन अनुभवबारे बोल्दै उक्त कृतिका कृतिकार `सोराडी´ले बिधागत रूपमा कृतिमा कैयौं अपुगता रहेको महसुस गरेको भन्दै कृतिमार्फत उत्पीडनमा परेका जनता र बर्गको आवाजलाई मुखरित गर्ने प्रयास गरिएको बताउनु भयो।उहाँले लेखाईबाट थप सिक्दै आफूलाई उत्साहित गरेको र आफ्नो कलम मार्फत जनता र देशले भोगिरहेका पीडा र समस्यालाई उजागर गर्न निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

    त्यस्तै बिमोचित कृतिबाट श्रष्टाहरु प्रमुना पौडेल , मन भुजेल,सशीश्री आचार्य, राज के.सी, शिवहरी थापा,नानू राना थापा,बद्री उप्रेती र कुमार नेपालले मुक्तक बाचन गरेका थिए।

    ३ सय मुक्तक र १ सय पृष्ठ रहेको कृतिको लोकार्पण कार्यक्रमको अध्यक्षता मिना न्यौपानेले गर्नु भएको थियो।राष्ट्रिय गान सहित सुरु गरिएको कार्यक्रममा संस्थाका आजीवन सदस्य गोबिन्द पौडेलले मन्तव्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार सुभद्रा अधिकारीले गर्नु भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Oplus_0