
पुष ५, काठमाडौँ ।
प्रगतिशील लेखक संघ नेपाल (प्रलेस) ले श्यामप्रसाद स्मृति पुरस्कारसहित विभिन्न साहित्यिक पुरस्कार वितरण गरेको छ। शनिबार काठमाडौँस्थित पिके क्याम्पसमा आयोजित ‘प्रलेस पुरस्कार समर्पण कार्यक्रम’मार्फत प्रगतिशील साहित्य, संस्कृति र विचारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गरिएको हो।

२०८२ सालका प्रमुख पुरस्कार तथा स्रष्टाहरू
🔹 प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार–२०८२
➡️ प्रगतिशील साहित्यकार ईश्वरचन्द्र ज्ञवाली
🔹 प्रलेस प्रतिभा पुरस्कार–२०८२
➡️ लेखक तथा राजनीतिज्ञ अनिल शर्मा विरही
🔹 प्रलेस बाल साहित्य पुरस्कार–२०८२
➡️ बाल साहित्यकार सुशिला प्रधानाङ्ग
🔹 प्रलेस युवा पुरस्कार–२०८२
➡️ युवा लेखक तथा साहित्यकार रूपक अलङ्कार
पुरस्कार वितरण समितिका संयोजक समिर सिंहका अनुसार यस वर्षका लागि योग्य स्रष्टाहरूलाई छनोट गरी सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित उपाध्यक्ष तथा प्रलेसका सल्लाहकार रघुजी पन्तले सम्मानित स्रष्टाहरूलाई दोसल्ला, सम्मानपत्र तथा पुरस्कार प्रदान गर्नुभयो।

साहित्य समाज परिवर्तनको औजार : रघुजी पन्त
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पन्तले प्रगतिशील लेखकहरूलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालसँगै वर्तमान समाजमा देखिएका विकृति, विसंगति र अव्यवस्थामाथि कलम चलाउन आग्रह गर्नुभयो। साहित्यले समाजको चेतना निर्माण गर्ने र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा निर्णायक भूमिका खेल्ने उहाँको जोड थियो।

जेन–जी आन्दोलनको सन्दर्भ उठाउँदै पन्तले सामाजिक सञ्जाल तत्काल बन्द गर्ने निर्णयप्रति असहमति जनाउँदै, त्यसका कारण देशमा केही असहज परिस्थिति सिर्जना भएको बताउनुभयो। सामाजिक सञ्जालका सकारात्मक पक्ष हुँदाहुँदै पनि यसले समाजलाई अध्ययन र गम्भीर चिन्तनबाट विमुख बनाइरहेको उहाँको भनाइ थियो।

स्मारिका र कृति विमोचन
प्रलेस अध्यक्ष देवी क्षेत्री दुलालको अध्यक्षता तथा महासचिव झपिन्द्र ढकाल (पारस) को सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष, सल्लाहकार तथा सम्मानित स्रष्टाहरूले समेत मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रलेसको स्मारिका ‘प्रलेस–३१’ अंक तथा विभिन्न स्रष्टाहरूका नवप्रकाशित कृतिहरूको विमोचनसमेत गरिएको अध्यक्ष दुलालले जानकारी दिनुभयो।

कार्यक्रमको पृष्ठभूमि
उल्लेखनीय छ, असोज ५ गते हुने प्रलेस स्थापना दिवसको अवसरमा प्रदान गरिने श्यामप्रसाद स्मृति पुरस्कारलगायत विभिन्न पुरस्कारहरू जेन–जी आन्दोलनका कारण स्थगित भएका थिए। ती पुरस्कारहरू पुष ५ गते औपचारिक रूपमा वितरण गरिएको प्रलेसले जनाएको छ। कार्यक्रममा प्रलेसका पदाधिकारी, साहित्यकार, लेखक, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।











