News Portal

  • राष्ट्रका लागि २ घण्टा’ अभियानद्वारा भक्तपुरका नवनिर्वाचित सांसदहरूलाई सम्मान

    दोलागिरि संवाददाता२०८२ चैत्र २२
    १८ पटक

    भक्तपुर, २२ चैत २०८२
    ‘राष्ट्रका लागि २ घण्टा’ अभियानद्वारा भक्तपुर जिल्लाबाट निर्वाचित नवनिर्वाचित संघीय सांसदहरूलाई सम्मान गरिएको छ। वातावरणीय स्वच्छता र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा सांसदहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको थियो।
    कार्यक्रमअघि कौशलटारस्थित अरनिको राजमार्ग क्षेत्रमा सांसदहरू स्वयं सरसफाई अभियानमा सहभागी भएका थिए। सरसफाइपछि कौशलटार ब्यान्क्वेटमा आयोजित औपचारिक कार्यक्रममा उहाँहरूलाई सम्मान गर्दै सफल, जनमुखी तथा उत्तरदायी कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। सरसफाई कार्यक्रममा नेतृत्व तहकै प्रत्यक्ष सहभागिताले “नेतृत्व अग्रसर भए परिवर्तन सम्भव हुन्छ” भन्ने सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
    कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ र २ बाट निर्वाचित सांसदहरू—रुकेश रञ्जित, राजिव खत्री, गुरु बराल, मदनकृष्ण श्रेष्ठ, कुसुम महर्जनलगायतको उपस्थिति रहेको थियो। साथै वातावरणीय क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    कार्यक्रमका क्रममा अभियानले हालसम्म वातावरण संरक्षण, सरसफाई तथा जनचेतना अभिवृद्धिमा हासिल गरेका उपलब्धिहरू श्रव्यदृश्य सामग्रीमार्फत प्रस्तुत गरिएको थियो। उक्त प्रस्तुति अवलोकनपछि सांसदहरूले अभियानको सकारात्मक भूमिकाको प्रशंसा गर्दै स्वच्छ वातावरण निर्माण सम्पूर्ण समाज र राज्यको साझा दायित्व भएको धारणा व्यक्त गरेका थिए। साथै आगामी दिनमा अभियानसँग सहकार्य र समर्थन रहने प्रतिबद्धता जनाइएको थियो।


    अभियानका अध्यक्ष मधु ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव नवराज काफ्लेद्वारा सञ्चालन गरिएको थियो। संयोजक तथा उपाध्यक्ष नरेश रञ्जितले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सल्लाहकार एवं मध्यपुर थिमी नगरपालिका उपप्रमुख अञ्जना देवी मधिकर्मीले धन्यवाद ज्ञापन गरेका थिए।


    यस अवसरमा सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, भागिरथा सिटौला, विनोद आचार्यलगायत सल्लाहकारहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने आयोजक टोली, स्वयंसेवक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरिएको थियो।

    अभियानले वातावरणीय स्वच्छता, दिगोपन र स्वस्थ समाज निर्माणका लागि सबै सरोकारवालाको निरन्तर साथ र सहकार्य रहने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिकृया दिनुहोस्