

ललितपुर, हरिसिद्धि – ललितपुर महानगरपालिका–२८ मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ लेखा परीक्षक नियुक्त गर्ने निर्णय समेत गरिएको छ। शेयरधनीहरूका लागि सभाले अत्यन्तै सुखद निर्णय गर्दै आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सभामा अस्पतालको वित्तीय पारदर्शिता, सेवा विस्तारका रणनीति र आगामी योजनाहरूबारे विस्तृत छलफल गरिएको थियो। अध्यक्ष डा. श्रेष्ठले स्वास्थ्य सेवाको गुणस्तरमा निरन्तर सुधार गर्दै भविष्यमा अझ आधुनिक तथा प्रविधिमैत्री सेवा थप गर्ने लक्ष्य रहेको बताए।
नेपाल क्यान्सर हस्पिटलले विगत तीन वर्षयता क्यान्सर उपचारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको र भविष्यमा समेत सेवा विस्तारसँगै अनुसन्धान र जनस्वास्थ्यमा टेवा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।