News Portal

  • प्याब्सनको केन्द्रीय र प्रदेश पदाधिकारीलाई भक्तपुरमा सम्मान

    दोलागिरि संवाददाता२०८१ चैत्र २४
    ४४ पटक

    भक्तपुर, २५ चैत्र २०८१। निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति, भक्तपुरले हालै सम्पन्न १६औं राष्ट्रिय महाधिवेशन र बागमती प्रदेश अधिवेशनबाट निर्वाचित केन्द्रीय तथा प्रदेश पदाधिकारीहरूलाई सम्मान गरेको छ।

    भक्तपुरको पलासेस्थित काठमाडौं फन भ्यालीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा केन्द्रीय प्याब्सनका नव-निर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीसहित विभिन्न पदाधिकारीहरू, बागमती प्रदेश प्याब्सनका अध्यक्ष र नवनिर्वाचित जिल्ला अध्यक्षहरू सहभागी थिए।

    भक्तपुरबाट केन्द्रीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा दीपिका रिमाल थापासहित आधा दर्जन नेताहरू निर्वाचित भएका छन् भने, प्रदेश कार्यसमितिमा उपाध्यक्ष सानुराज कार्कीले भक्तपुरको नेतृत्व गरिरहेका छन्। जिल्ला अध्यक्ष राजन कसपालका अनुसार, अग्रजहरूको सम्मान र आपसी समन्वय अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा भक्तपुर जिल्ला प्याब्सनको वार्षिक कार्ययोजना समेत प्रस्तुत गरिएको थियो।

    केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले सम्मानप्रति आभार व्यक्त गर्दै निजी विद्यालयहरूको हितमा कार्यरत रहने प्रतिबद्धता जनाए। उनले नीतिगत रूपमा विद्यालयको सुरक्षा, शिक्षकको हकहित, र विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रमुख प्राथमिकता दिने बताए।

    स्वास्थ्य मन्त्री थापाले निजी क्षेत्रले शिक्षा विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै, निजी विद्यालय सञ्चालकहरूको लगानी सुरक्षित रहने विश्वास व्यक्त गरे। उनले प्याब्सनलाई आफ्नो अनुभव सामुदायिक विद्यालयमा पनि बाँड्न आग्रह गरे। साथसाथै, सूर्यविनायक क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका मन्त्री थापाले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउनुपर्नेमा जोड दिए।

     

    प्रतिकृया दिनुहोस्