

काठमाडौँ, चैत २५ गते ।प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालको १३औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । चैत २३ र २४ गते काठमाडौँमा आयोजित सम्मेलनले डा. देवी दुलाल (क्षेत्री)को अध्यक्षतामा ४५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । साथै, ४६ सदस्यीय राष्ट्रिय परिषद् पनि गठन गरिएको छ ।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा समीर सिंह र डा. अमृता शर्मा चयन भएका छन् भने महासचिवको जिम्मेवारी पारस ढकालले सम्हाल्नेछन् । उपमहासचिवमा बोधकुमार घिमिरे, सचिवमा डा. हरिप्रसाद तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा. कृष्ण सुवेदी चयन भएका छन् ।
सम्मेलनमा जिल्ला तथा प्रदेश समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उद्घाटन समारोह प्रलेसका पूर्व अध्यक्ष निनु चापागाईले उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनका अवसरमा विभिन्न सम्मानहरू पनि प्रदान गरिएका छन् । प्रलेस पारिजात स्मृति सम्मानबाट शान्ता श्रेष्ठ, हृदयचन्द्र सिंह प्रधान स्मृति सम्मानबाट मातृका पोखरेल, युद्धप्रसाद मिश्र स्मृति सम्मानबाट प्राडा जिवेन्द्रदेव गिरी, श्यामप्रसाद स्मृति सम्मानबाट गोपीरमन उपाध्याय, र रमेश विकल स्मृति सम्मानबाट कमल जङ्गली आचार्यलाई सम्मानित गरिएको छ ।
प्रगतिशील लेखक सङ्घ वामपन्थी धारणा राख्ने लेखकहरूको साझा संस्था हो । यसमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले), नेकपा (विप्लव नेतृत्व) र नेकपा (मशाल) सम्बद्ध लेखकहरू आबद्ध छन् ।
वि.सं. २००९ साल असोज ५ गते वीरगन्जमा आयोजित भेलाले श्यामप्रसाद शर्माको अध्यक्षतामा पहिलो प्रलेस कार्यसमिति गठन गरेको थियो । त्यस समय संस्थापक महासचिवमा रत्नदास वैद्य र कोषाध्यक्षमा देवीप्रसाद किसान (केवलपुरे किसान) चयन भएका थिए ।