

विथोल्डाँडामा गुञ्जिएको थियो
नारी आवाजको बिजुली गर्जन जस्तै
सुनसान थियो आकाश,
तर पृथ्वी भुइँचालोझैँ काँपिरहेको थियो।
गोलीले उडायो प्याउकलीको निधार,
तर उडेन आस्था र विचार
भत्केन साहसको दीवार कालिहादुरले छाति थापे
त्यही चोट बनेर उठ्यो
प्रतिरोध, विद्रोह, एक बलिदानको आगो
ढोका खोलेर निस्किए
प्याउकलीका दिदीबहिनीहरू,
कसैले हातमा पिट्को, कसैले करुवा,
कोही ढुङ्गा समाउँदै, कोही छाती तान्दै बढे प्रतिरोधमा
हामी चुप लाग्दैनौं अब
हामी सहँदैनौं अब
बन्दै गुञ्जियो विथोल्डाँडा
बारुद भन्दा पिरो साहस बोकेर
रहगाडका बाटाहरू बोल्थे,
प्रत्येक पाइला विद्रोहको ज्वाल थियो,
चिउरी मेलासम्म लखेटिएको थिए दुस्मनहरु
ओढारमा लुकेको सत्ता
आगोको स्पर्शमा बिलायो
ती महिला
जुन इतिहासले पाना च्यातेर भुल्न खोज्छ,
तर माटो सम्झिन्छ,
रगत सम्झिन्छ,
र क्रान्ति कहिल्यै भुल्दैन।
विथोल्डाँडा
केवल एक थलो थिएन त्यो दिन,
त्यो एउटा घोषणा थियो
नारी प्रतिरोधको,
जनयुद्धको अर्को अध्यायको
प्याउकली, विजा, गोरीकला, मंगली,
नाम होइनन् यी
यो देशको मुटुको धड्कन हुन्,
रगत र विद्रोहको राग हुन्
यो विद्रोह ….
कहिल्यै ओइलिने फूल होइन,
यो विथोल्डाँडा …
कहिल्यै चिसो नहुने आगो हो।
प्रतिरोधले सुरु भएको त्यो यात्रा,
आजसम्म जनताको शिरको ताज बनेर बोलिरहेछ …
वीरता, विद्रोह, र विजयको गीत।