News Portal

  • भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा शुक्रबारबाट सुरु

    दोलागिरि संवाददाता२०८२ चैत्र २८
    ७ पटक

    भक्तपुर — भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा शुक्रबारबाट सुरु भएको छ। नयाँ वर्ष सुरु हुनुभन्दा चार दिनअघिदेखि मनाइने यो जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ सञ्चालन हुने गर्दछ।
    जात्राको पहिलो दिन भैलखः अर्थात् भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिएको हो। त:मारी टोलस्थित भैरव मन्दिरमा विधिवत् पूजा सम्पन्न गरी मूल देवतालाई रथमा विराजमान गराएपछि रथयात्रा अघि बढाइएको थियो।


    जात्राको मुख्य आकर्षणका रूपमा रहेको रथ तान्ने क्रममा तल्लो टोल र माथिल्लो टोलका स्थानीयबीच आ–आफ्नो क्षेत्रमा रथ लैजान तानातान हुने गर्दछ। त:मारी टोलमा रहेको तीनतले प्यागोडा शैलीको भैलख रथलाई दुवै टोलका स्थानीयले होस्टे हैंसे गर्दै तान्ने परम्परा रहेको छ।

    परम्पराअनुसार पहिलो दिन भैरवनाथको रथ तल्लो टोलको टौमढीबाट सहरका विभिन्न स्थान हुँदै बंशगोपालचोकसम्म तथा माथिल्लो टोलतर्फ दत्तात्रय मन्दिर क्षेत्रसम्म लैजाने गरिन्छ। यस दिनलाई ‘द्यो क्वँबिज्यागु’ भनिन्छ, जसअनुसार भैरवनाथको रथ तल्लो टोलमा विराजमान गराइन्छ।
    रथलाई विभिन्न टोल परिक्रमा गराउँदै अन्ततः गहिटी टोलमा पुर्‍याएपछि पहिलो दिनको जात्रा समापन गरिएको छ।

    प्रतिकृया दिनुहोस्