News Portal

  • मदरल्याण्ड स्कुलको “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण-२०८१” भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८१ चैत्र २३
    २९ पटक

    भक्तपुर, चैत्र २३। भक्तपुरको एक अब्बल शैक्षिक संस्थाको रूपमा परिचित मदरल्याण्ड स्कुलले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम–२०८१” भव्य रूपमा सम्पन्न गरेको छ। करिब ५६३ जना अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रम चैत्र २३ गते मदरल्याण्ड स्कुल परिसरमा आयोजित गरिएको थियो।

    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगर प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासका लागि गर्दै आएको प्रयासको प्रशंसा गर्दै विद्यालयको २० वर्षे कठिन यात्रा आज उत्कृष्ट विद्यालयको पहिचानमा परिणत भएको उल्लेख गर्नुभयो। साथै, शैक्षिक वर्ष २०८१ मा विविध विधामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई उहाँले सम्मान गर्नु भएको थियो ।


    कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा र वडा नं. ८ का अध्यक्ष पुष्पराज वस्नेतले मदरल्याण्ड स्कुलले शैक्षिक मात्र होइन, अतिरिक्त क्रियाकलापहरूमा समेत विद्यार्थीहरुको प्रतिभा उजागर गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।


    कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा. रविन कटवालले अभिभावक र विद्यार्थीहरूलाई शिक्षाको महत्वबारे प्रेरणादायी मन्तव्य दिनुभएको थियो। त्यस्तै, कल्पवृक्ष एजुकेशनकी निर्देशक एवं स्कुलकी सल्लाहकार प्रतिक्षा गौतमले तालिमप्राप्त शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कक्षा यूकेजीका विद्यार्थीहरुलाई दिक्षित गर्नुभएको थियो।


    विद्यालयकी कोरियोग्राफर सुमी वानियाले निर्देशन गरेका आकर्षक नृत्यहरू, गीत, नाटक तथा मार्सल आर्ट डेमो विद्यार्थीहरूले प्रस्तुत गरेका थिए। मिस एण्ड मास्टर लिटिल स्टार २०८१ सिजन २ का विजेताहरुलाई छात्रवृत्तिको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने ५५ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, वर्षभरि विभिन्न विधामा उत्कृष्ट हुने १३ जना विद्यार्थीहरू, कक्षागत प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरू र प्रिस्कुलबाट स्तरोन्नत हुने सबै विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।


    विद्यालयका प्रिन्सिपल संजय खड्काले शैक्षिक मात्र नभई विविध क्षेत्रमा विद्यार्थीहरुलाई सहभागी गराउने नीति अपनाइएको जानकारी दिनुभयो। विद्यालयमा स्कुल हेल्थ नर्सको व्यवस्था, पूर्णरूपमा पाठ्यपुस्तक फ्रि गरिएको प्रिस्कुल, प्रविधियुक्त शिक्षण प्रणाली, र व्यक्तित्व विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै, अभिभावकहरुको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

    कार्यक्रमको समापनमा विद्यालयकी एक्जिक्युटिभ हेड शर्मिला देउजाले प्रमुख अतिथिसहित सबै पाहुनाहरुलाई मायाको चिनो प्रदान गर्नुभयो। कार्यक्रमको सञ्चालन वरिष्ठ सञ्चारकर्मी तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्