


१७ फागुन २०८१ भक्तपुर । डा. इवामुरा मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा ए.जे. स्कुलद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालका अनुसार उक्त शिविरमा अढाइ सयभन्दा बढी सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविरमा एम.डी. (जी.पी.) डा. विनोद डोगोल, मेडिकल अफिसर डा. नेन्सी कर्ण, बालरोग विशेषज्ञ डा. राजेन्द्र सिल्पकार, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. मनिष प्रधान लगायतका अनुभवी चिकित्सकहरूले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए।
उक्त स्वास्थ्य शिविरको समापन कार्यक्रममा ए.जे. स्कुलका प्रिन्सिपल कृष्णराम दुवालले डा. इवामुरा मेमोरियल अस्पतालका चिकित्सकहरूलाई विद्यालयको तर्फबाट सम्मानपत्र र मायाको चिनो प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरेका थिए।
विद्यालयको प्राङ्गणमा सम्पन्न यस शिविरले सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्दै समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान दिएको जानकारी दिएका छन् । शिविरमा उल्लेख्य संख्यामा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणले सेवा लिएको आयोजकले जनाएको छ।
स्थानीयबासीले यस्ता स्वास्थ्य शिविर आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने माग राखेका छन्।
