News Portal

  • भक्तपुर क्यान्सर अस्पतालमा प्यालियटिभ सेवा विस्तारको घोषणा

    दोलागिरि संवाददाता२०८२ आश्विन ३०
    १९३ पटक

    भक्तपुर  । २९ असोज २०८२, बुधवार ।भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसरमा एक विशेष समारोह आयोजना गर्दै देशव्यापी रूपमा प्यालियटिभ सेवाको विस्तार गर्ने घोषणा गरेको छ। सो अवसरमा अस्पतालले “BCH Palliative Care Fund” स्थापनाको समेत घोषणा गर्दै आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।

    अस्पताल परिसरमा आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य विज्ञ, समाजसेवी, स्वयंसेवक, सरोकारवाला संस्था र पत्रकारहरूको उपस्थिति थियो। कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष डा. उज्ज्वल चालिसेले स्वागत मन्तव्य दिँदै भने,

    “जीवनको अन्तिम क्षणमा पनि माया, सहानुभूति र सम्मान पाउने अधिकार सबैको हो। हामी उपचार मात्र होइन, मानवताको सेवा गरिरहेका छौं। प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक जिम्मेवारी हो।”

    डा. चालिसेले नेपालमा पहिलोपटक Hospice Facility स्थापना गर्ने दीर्घकालीन योजना रहेको बताउँदै भने, “सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्य विना यो सम्भव हुँदैन। सरकार नीतिगत भूमिका खेलोस्, निजी क्षेत्रले स्रोत र प्रविधि सहयोग गरोस्, र समुदायले सेवाको स्वामित्व लियोस्।”

    हाल अस्पतालले सर्जरी, रेडियसन, किमोथेरापी, इम्युनोथेरापी, ल्याब सेवा र सिटी स्क्यानलगायतका अत्याधुनिक उपचार सुविधा सञ्चालन गर्दै आएको छ। यसै वर्ष अस्पतालले PET Scan सेवा सुरु गर्ने तयारीसमेत गरेको छ। डा. चालिसेले आगामी दशकका लागि प्यालियटिभ सेवा अस्पतालको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै Home-Based CareTerminal Care Unit मार्फत सेवा विस्तार गरिने जानकारी दिए।

    कार्यक्रमकी प्रमुख अतिथि मिस नेपाल २०२५ सुश्री लुना लुइटेलले प्यालियटिभ केयरलाई चिकित्सकीय मात्र नभई मानवीय मूल्य र करुणासँग जोडिएको सेवा भएको बताउँदै भनिन्,

    “प्यालियटिभ केयर औषधि होइन, यो प्रेम, आदर र संवेदनशीलताको भाषा हो। हामी सबैले यसलाई सामाजिक जिम्मेवारीका रूपमा लिनुपर्छ।”

    उनीले युवा पुस्तालाई पनि यो मानवीय अभियानमा सहभागी हुन आह्वान गर्दै बिरामी र वृद्धहरूको अन्तिम दिनसम्म सम्मानपूर्वक जीवन बाँच्न सहयोग गर्न आग्रह गरिन्।

    त्यसैगरी, विशिष्ट अतिथि तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले हालै २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको जानकारी दिए। उक्त रणनीतिले पाँच प्रमुख क्षेत्र—सेवा पहुँच विस्तार, जनशक्ति अभिवृद्धि, औषधि सुनिश्चितता, संस्थागत सुदृढीकरण र समुदाय संलग्नता—लाई समेटेको छ।
    उनले भने,

    “अब प्यालियटिभ केयर स्वास्थ्य प्रणालीको परिधिमा होइन, केन्द्रमा आउँछ।”

    डा. बुढाथोकीका अनुसार नेपालमा हरेक वर्ष करिब ७० देखि ८० हजार बिरामीलाई प्यालियटिभ सेवाको आवश्यकता पर्छ तर तीमध्ये १० प्रतिशतभन्दा कमले मात्र नियमित सेवा पाउँछन्। भक्तपुर क्यान्सर अस्पतालले समग्र प्यालियटिभ सेवा–मोडेलको पहिलो उदाहरण पेश गरेको उनले प्रशंसा गरे।

    डा. चालिसेले प्रस्तुत गरेको तथ्यांकअनुसार हाल नेपालमा प्यालियटिभ केयरमा विशेषज्ञ एमडी चिकित्सक दुई जना मात्र छन् र दुबै जना भक्तपुर क्यान्सर अस्पतालमै कार्यरत छन्। अस्पतालले गत दुई वर्षदेखि Home Visit Program सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत चिकित्सकहरू बिरामीको घरमै पुगेर सेवा दिइरहेका छन्।

    कार्यक्रममा BCH Palliative Care Fund मा विभिन्न संस्थाले सहयोगको घोषणा गरेका छन्।

    • लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरले रु १ लाख,
    • DK Medi Sales Pvt. Ltd. ले रु ५ लाख बराबर,
    • East West Concern Pvt. Ltd. ले रु २ लाख,
    • श्रीमती उषा दीक्षितले व्यक्तिगत रूपमा रु १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाए।

    अस्पतालका अनुसार संकलित रकम प्यालियटिभ सेवाको पहुँच विस्तार र निःशुल्क उपचारका लागि प्रयोग गरिनेछ।

    कार्यक्रममा दिवंगत चिकित्सक डा. चाँदनी वैद्य, पूर्व निर्देशक डा. सुदीप श्रेष्ठ, डा. आरती शाह, र प्रा. डा. विष्णुदत्त पौडेलको योगदान स्मरण गरिएको थियो।

    यस वर्षको अन्तर्राष्ट्रिय नारा “Achieving the Promise: Universal Access to Palliative Care” रहेको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले देशभरका क्यान्सर तथा दीर्घ रोगी बिरामीले सुलभ, सम्मानजनक र करुणामय सेवा पाउनुपर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्