News Portal

  • सिन्धुपाल्चोकको सुकुटेमा प्रगतिशील साहित्यको लय: कविता, विचार र पर्यटनको संगम

    दोलागिरि संवाददाता२०८३ बैशाख २१
    २१ पटक

    सिन्धुपाल्चोक, वैशाख २० — प्रगतिशील लेखक सङ्घ, वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा सिन्धुपाल्चोकको सुकुटेमा आयोजित “कविता साँझ” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। वैशाख १९ र २० गते सम्पन्न उक्त कार्यक्रमले प्रगतिशील साहित्य, वैचारिक विमर्श र स्थानीय पर्यटनलाई एउटै सूत्रमा गाँस्दै एक नयाँ सांस्कृतिक ऊर्जा सिर्जना गरेको छ।


    विभागको ८५औँ “विचार चौतारी” शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रगतिशील लेखक सङ्घ नेपालका पूर्व अध्यक्ष मातृका पोखरेलको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न अग्रज तथा समकालीन कविहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै श्रम, संघर्ष, परिवर्तन र समाजवादी चेतनाका विषयलाई सशक्त रूपमा अभिव्यक्त गरेका थिए।


    कार्यक्रममा सल्लाहकारहरू ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्रधानाङ्ग, डा. बिन्दु शर्मा, गोपाल बराल, प्राज्ञ बाबा बस्नेत तथा डा. कौशिला रिसाल लगायतका व्यक्तित्वहरूले पनि कविता वाचन गरेका थिए। त्यस्तै समीर सिंह, डा. अमृता शर्मा, डा. कृष्ण सुवेदी, नमुना शर्मा, दिनेश दुलाल, डा. बालचन्द्र मिश्र, भोला ढकाल, कर्ण दयाल सोरारी, डा. प्रतिभा पुन, पार्वती राउत, सुधा मैनाली, यदुनाथ बसन्तपुरे, भक्त विश्वकर्मा, विजेन्द्र विक्रम जि.सी., रमेश दाहाल, राधा कार्की, सुमन थापा ‘संगम’, डा. यादेवी ढकाल, सरस्वती शर्मा अधिकारी, वासुदेव पौड्याल, अच्युत घिमिरे, निर्मल बस्नेत, बालकवि सुविन पन्तलगायतका स्रष्टाहरूले पनि आफ्ना कविता प्रस्तुत गरेका थिए।


    सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका सचिव कृष्ण सापकोटाको आतिथ्य रहेको कार्यक्रममा विभागका संयोजक समीर सिंहको अध्यक्षता तथा उपाध्यक्ष डा. अमृता शर्माको सञ्चालनमा कार्यक्रम अगाडि बढाइएको थियो। कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी डा. कृष्ण सुवेदीले गराएका थिए।

    कार्यक्रमकै अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत साहित्यकारहरू ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्रधानाङ्ग र कर्ण दयाल सोरारीलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो।
    दोस्रो दिन “सुकुटे कविता बिहानी” शीर्षकमा आयोजित सत्रमा कविहरूले पुनः प्रगतिशील कविता वाचन गर्दै वातावरणलाई साहित्यिक चेतनाले भरिपूर्ण बनाएका थिए। त्यही दिन सुकुटे बिच रिसोर्टबाट सुनकोसी किनारासम्म र्याफ्टिङ कार्यक्रम समेत सम्पन्न गरिएको थियो, जहाँ नदीको बहावसँगै कविताको स्वर पनि गुन्जिएको थियो।

    यस कार्यक्रमले साहित्यिक सिर्जना र प्राकृतिक सौन्दर्यबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएको आयोजकहरूको विश्वास रहेको छ।

    प्रतिकृया दिनुहोस्